निर्मालाको कथामा बनेको फिल्म कोपिला हेरिन आमा दुर्गादेवीले


ब्युटी न्युज नेपाल
काठमाडौं, १० माघ

१३ को उमेरमा निर्मम वलात्कारपछि हत्या भएकी बालिका निर्मला पन्तको घटनालाई चलचित्रमा उतारेर चलचित्र कोपिला निर्माण गरिएको छ ।

सुदुरपश्चिम प्रदेशको कन्चनपुरकी बलात्कारपछि हत्या भएकी निर्मलाको हत्यारा अझै पत्ता लगाउन प्रहरीले सकेको छैन । यही घटनामा आधारित रहेर बनाईएको चलचित्र ‘कोपिला’को शुक्रबार हेटौंडाको एन एस सिनेमा हलमा विशेष प्रदर्शन गरिएको छ ।

यो चलचित्रको च्यारिटी शोमा दिवँगत निर्मलाकी आमा दुर्गादेवी पन्त पनि सहभागी भईन् । उनी कन्चनपुरबाट शुक्रबार बिहानमात्र कोपिलाको विशेष प्रदर्शनमा आईपुगेकी हुन् ।

चलचित्र हेर्ने क्रममा आमा दुर्गादेवीले आँशु रोक्न सकिनन् । चलचित्रको कार्यक्रममा उनी पीडा र कमजोरीका कारण बेहोस पनि भईन् ।

मकवानपुर जागरण अभियानले आयोजना गरेको विशेष प्रदर्शन (च्यारेटी शो) स्वर्गीय निर्मला पन्तको आमा दुर्गादेवी पन्तलाई आभार पत्र सहित नगद ५० हजार प्रदान गरियोे । पन्तलाई चलचित्रका निर्देशक शिबम् अधिकारी, निर्माता मणिराज गौतम, गणेश गिरी, सुबासराज काफ्ले, जागरण अभियानका अध्यक्ष कृष्णराज कोईरालाले संयुक्त रुपमा रकम प्रदान गरे ।

विशेष प्रदर्शनीमा निर्मलाकी आमा दुर्गादेवी पन्त सहित चलचित्रका कलाकार टोली, सञ्चारकर्मी र विभिन्न व्यक्तिहरु अतिथिका रुपमा सहभागी भए । कोपिलाका कलाकारहरु गणेश गिरी, सरिता गिरी, संजीवनी खरेल, प्रकृती खरेल, जुनिफर पौडेल, श्रेया आचार्य कार्यक्रममा सहभागी थिए । यस्तै अभिनेता रमित ढुगाना, चलचित्र निर्माता कृषा चौलागाई, पत्रकार निर्देशक डब्बु क्षेत्री, निर्देशक गोबिन्द गौतम सहित विभिन्न संचारकर्मी सहभागी थिए ।

दिवँगत निर्मलाकी आमा दुर्गादेबीले कार्यक्रममा बोल्दै आफुले छोरी गुमाए पनि चलचित्र कोपिलाले नेपाली चेलीलाई सचेत बनाउनु र बलात्कार हुनबाट जोगिन सघाउने विश्वास व्यक्त गरिन् । आफुले न्याय पाउन नसकेको बेला यो फिल्मले न्यायको मागमा दवाव दिन सघाउने विश्वास पनि उनले कार्यक्रममा व्यक्त गरिन् ।

अभिनेत्री सरिता गिरीले चलचित्र कोपिलामा निर्मलाकी आमाको भूमिका निर्वाहगर्न निकै गाह्रो भएको बताईन् । नारीमाथि हुने हरेक प्रकारको हिँसा अन्त्यको लागि यो एउटा अभियान भएको भनाई उनले कार्यक्रममा राखिन् ।

नेपाल पत्रकार महासंघ कन्चनपुरका अध्यक्ष बिष्णु अबस्थीले यस्तो सिनेमा समाजका लागि अपरिहार्य भएको बताए ।  निर्मला पन्तको कथालाई उठान गरेर चलचित्र बनाएकोमा उनले आभार ब्यक्त गर्दै यो चलचित्रले आम निर्मलाहरुको प्रतिनिधत्व गर्ने भनाई अध्यक्ष अबस्थीले कार्यक्रममा राखे ।

यस्तै कन्चनपुरबाटै आएकी महिला अधिकारकर्मी प्रेमपति रानाले पनि चलचित्रबाट आम समाजलाई सुसुचित गराउने बताईन् । चलचित्र कोपिलाले आम नेपाली छोरीचेलीहरुलाई यस्ता घटनाबाट सजग बनाउने विश्वास व्यक्त गरिन् ।
निर्देशक शिवम अधिकारीले निर्मालाले न्याय पाउन नसकेको बेला न्यायको लागि आबाज उठाउन र सरकारलाई दवाव दिन चलचित्र कोपिला बनाएको बताए ।

यो चलचित्रमा सरिता गिरी, गणेश गिरी, संजिवनी खरेल, प्रकृति खरेल, जुनिफर पौडेल, श्रेया आचार्य, ऋद्धिचरण श्रेष्ठ, अस्मिता सुनार (जुरेली) प्रणव सुवेदी, बिमल पौडेलसहित विभिन्न कलाकारहरुको अभिनय रहेको छ । जसमा निर्मलाको भूमिकामा संजिवनी खरेल छिन् । उनको अभिनयको दर्शकले खुलेर प्रसँसा गरे । विशेष प्रदर्शनीमा हेटौंडाबासीले चलचित्र कोपिला सत्य घटनामा केन्द्रित भएर निकै राम्रो बनेको बताए ।