ब्युटी न्युज नेपाल
काठमाडौं, ७ माघ

चलचित्र ‘कमाण्डर’ शुक्रबार १० माघबाट रिलिज हुने भएको छ । यो चलचित्रको निर्माण पक्षले मंगलबार राजधानीमा प्रेस भेटघाट गर्दै सो बारे जानकारी गराएको हो । निर्देशक यसमा एलआर बिबेक सापकोटाको लेखन, निर्माण र निर्देशन रहेको छ । फिल्ममा भरमार एक्शन, लभ र सेन्टिमेन्टस् रहेको निर्देशक सापकोटाले बताएका छन् ।

यो चलचित्रमा अनुपबिक्रम शाही, रबिन तामाङ, साधना सिल्वाल, ध्रुव कोइराला, श्रीराम पुडासैनी, प्रेम शर्मा, दिनेश केसी, कालु राना, तेजा ऐरका साथमा नवनायिका सगुन थापाको मुख्य भूमिका छ ।

प्रेसमिटमा निर्देशक सापकोटाले भने, ‘कमाण्डरमा मनोरञ्जनका साथै देशप्रेमको सन्देश छ,। समसामयिक राजनीति, भ्रष्टाचार, तस्करी, कालोबजारीलगायतका समाजिक बेथितिबिरुद्धको प्रतिनिधि आवाजलाई फिल्ममा प्रस्तुत गरेका छौ ।’ उनले फिल्म बिशुद्ध मनोरञ्जनको हेतुले निर्माण गरिएको भए पनि समाजोपयोगी सन्देश समेत प्रस्तुत गरिएको बताए ।
यही फिल्मबाट डेब्यु गरेकी नवअभिनेत्री सगुन थापाले आफू कमाण्डरबाट निकै आशावादी रहेको बताइन् । उनले पहिलो फिल्म भए तापनि सिनीयर कलाकार तथा निर्देशकसँग काम गर्न पाउदा धेरै कुरा सिक्ने अबसर पाएको बताउदै आफ्नो करिअरको अगाडि पाइला यही फिल्मले तय गर्ने बिश्वास ब्यक्त गरिन् ।

अभिनेत्री साधनाले कमाण्डर ‘फूल इन्टरटेन्मेन्ट’ फिल्म भएको जिकिर गरिन् । पहिला केही म्युजीक भिडियोमा अभिनय गरेको भए पनि यो नै आफ्नो डेब्यु फिल्म भएकाले निकै आशावादी रहेको बताउदै उनले भनिन्,‘पहिलो प्रयास सक्दो राम्रो गर्ने कोसिस गरेकी छु । आशा छ दर्शकले स्वीकारिदिनु हुनेछ ।’

कार्यक्रममा अभिनेता अनुपबिक्रम, भिलेन रबिन तामाङ भने उपस्थिति थिएनन् । कार्य ब्यस्तताका कारण आफूहरु उपस्थिति हुन नसकेको भए पनि उनीहरुले कमाण्डरलाई शुभकामना ब्यक्त गरेको निर्देशक सापकोटाले बताए ।
फिल्ममा श्री श्रेष्ठको द्धन्द्ध निर्देशन, पवित्रा आचार्यले कोरियोग्राफी तथा मनोज चौलागाईंको शब्द र संगीत छ । आरआर फिल्मस्ले वितरण गर्ने फिल्मको सहनिर्मातामा सावन जंग राना छन् । सुपेरियर फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म दिब्य सुवेदीले खिचेका हुन् ।