निफमा ४० देशका ८० फिल्म


ब्युटी न्युज नेपाल
काठमाडौं, २ माघ

तेस्रो नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) आउँदो १ देखि ५ फागुनसम्म काठमाडौंको राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डको सभाकक्षमा हुने भएको छ ।

नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानको आयोजनामा हुँदै यो महोत्सब काठमाडौंमा हुन लागेको हो । महोत्सब आयोजक संस्थाका अध्यक्ष एवम् अग्रज चलचित्रकर्मी केपी पाठकका अनुसार नेपाली चलचित्रको रचनात्मक विकासको उद्देश्यसहित महोत्बस आयोजना गर्न लागिएको हो ।

महोत्सव अवधिभर ४० देशका ८० चलचित्र प्रदर्शन हुनेछन् । जसमा १० अन्तर्राष्ट्रिय कथानक चलचित्र, ३५ लघु चलचित्र, ५ नेपाली कथानक चलचित्र, १५ नेपाली लघु चलचित्र, ८ वृत्तचित्र र ६ एनिमेटेड फिल्म रहेका छन् । ५५ देशबाट प्राप्त ६ सयभन्दा बढी चलचित्रबाट उत्कृष्ट ८० चलचित्र छानिएको हो ।

‘विश्वका कथाहरूको कथ्य उत्सव’ नारासहित हुन लागेको महोत्सवमा विगतमा कथानक चलचित्र मात्र प्रस्तुत गरिएकामो यो वर्ष एनिमेसन र वृत्तचित्रको विधा पनि थपिएको छ । महोत्सवमा कथानक चलचित्र, वृत्तचित्र तथा एनिमेटेड विधाका उत्कृष्ट चलचित्रलाई बेग्लाबेग्लै पुरस्कार प्रदान गरिनेछ ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्वाेत्कृष्ट कथानक फिल्मलाई १ हजार ५ सय अमेरिकी डलरसहित गौतम बुद्ध अवार्ड, सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार अमेरिकी डलरसहित माउन्ट एभरेस्ट अर्वाड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७५० अमेरिकी डलरसहित मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय अमेरिकी डलरसहित वाग्मती अर्वाड प्रदान गरिने छ ।

फेस्टिभलमा प्रदर्शन हुनेमध्ये कथानक चलचित्रलाई बलिउड फिल्म निर्देशक प्रकाश झा नेतृत्वको निर्णायक मण्डलले मूल्यांकन गर्नेछ । यसमा गौरी मल्ल, मञ्जुकुमार श्रेष्ठ, पोर्जुगिज फिल्ममेकर जाओ पाओलो र सिंगापुरका फिल्ममेकर युनी हाडी सदस्य रहेनेछन् । वृत्तचित्र, लघु चलचित्र तथा एनिमेटेड चलचित्रतर्फको जुरीको नेतृत्व श्रीलंकन फिल्ममेकर अनोमा राजाकरुणाले गर्नेछन् भने उनलाई थिबाउट फ्रेक र करुण थापाले सघाउनेछन् ।

नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट कथानक चलचित्रलाई १ लाख रुपैयाँसहितको पुरस्कार र उत्कृष्ट लघु चलचित्रलाई ४० हजार रुपैयाँसहितको पुरस्कार प्रदान गरिनेछ । कथानक चलचित्रतर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाकार, अभिनेता र अभिनेत्रीलाई ट्रफी प्रदान गरिनेछ । महोत्सवमा फिल्म प्रदर्शनसँगै समानान्तर रुपमा विभिन्न विषयमा छलफल पनि सञ्चालन हुनेछन् । यस्ता छलफल अन्तर्गत राजेश हमाल आफ्नो अभिनय यात्राका बारेमा अनुभव सुनाउने राजी भएका छन् । चलचित्र बासुदेबको प्रदर्शन र अन्तरक्रिया सहित प्रकाश झाको मास्टर क्लास पनि राखिएको छ ।