ब्युटी न्युज नेपाल
काठमाडौं, २३ पुस

गायक तथा संगीतकार भुवन सुप्तिहाङ राईले ‘नेपाल भ्रमण वर्ष–२०२०’लाई टेवा पुग्ने गरी ‘आहा कति सुन्दर बारपाक गाउँ मेरै’ बोलको पर्यटकीय गीत सार्वजनिक गरेका छन् । सन् २०२० लाई सरकारले २० लाख पर्यटक भित्राउने लक्ष्यका साथ ‘नेपाल भ्रमण वर्ष’ मनाइरहेको बेला उनले यो गीत ल्याएका हुन् । यो गीतमा गोरखा, बारपाकको प्राकृतिक सौन्दर्य र विशेषतालाई चर्चा गरिएको छ ।

सरकारद्वारा घोषित ‘नेपाल भ्रमण वर्ष’लाई सघाउ पुगोस् भन्ने हेतुले आफ्नो पर्यटकीय गीत सार्वजनिक गरेको उनले बताए । बारपाक गोरखाको पर्यटकीय क्षेत्रमध्ये एक हो । उक्त सुन्दर पर्यटकीय बस्ती २०७२ सालको विनासकारी भूकम्पले तहस–नहस बनाएको थियो । तर, पुर्न्निर्माणपछि फेरि हेर्न र घुम्न लायकको बनेको छ बारपाक । गुुरुङ समुदायको बाहुल्यता रहेको बारपाकमा पुग्ने जोकोहीको लोभिन्छ ।
भुवनको सार्वजनिक गीतमा बारपाकको तिनै सुन्दरता र विशेषतालाई समेटिएको छ । यसअघि विभिन्न पर्यटकीय गीतहरु गाइसकेका भुवनले यसपटक आफ्नो गीतमार्फत बारपाक घुम्न आग्रह गरेका छन् । बारपाक विदेशीका लागि मात्र नभएर आन्तरिक पर्यटकका लागि समेत एकपटक घुम्नै पर्ने स्थानमा पर्छ ।

गीतकार जेबी संयोगीको शब्द र गायक भुवनकै संगीत रहेको ‘आहा कति सुन्दर बारपाक गाउँ मेरै’ गीतको संगीत संयोजन सञ्जय हमालले गरेका हुन् । यो गीत भुवनको पाँचौ एल्बम ‘सम्मान मेरो’मा समावेश छ । यस गीतलाई अहिलेका लागि लिरिकल भिडियोमा सार्वजनिक गरेको सुनाउँदै उनले भने, ‘यस गीतलाई पछि बारपाकमै गएर भिडियो बनाउने सोच छ ।’

उनका आधा दर्जनभन्दा बढी पर्यटकीय मात्र गीत रहेका छन् । पुर्वको इलाम, भेडेटारजस्ता पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने हेतुले त्यहाँको सुन्दरता र विशेषताका बारेमा गीत गाइसकेका भुवनले भने, ‘आहा कति राम्रो बारपाक मेरै गाउँ’ गीत सुनेर जो कोही पनि एकपटक बारपाक जाने सोच बनाउन सक्छ ।’ हाल अमेरिकामा रहेका गायक भुवनले सयौँ गीतमा स्वर तथा संगीत गरिसकेका छन् ।