सांस्कृतिक संस्थानमा अध्यक्ष अधिकारी र महाप्रबन्धक राईद्धारा कार्यभार ग्रहण


ब्युटी न्युज नेपाल

काठमाडौं, २२ पुष

सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) का नवनियुक्त अध्यक्ष प्रेमनाथ अधिकारी र महाप्रबन्धक अशोक प्यासी राईले सोमबारबाट संस्थानमा कार्यभार सुरु गरेका छन् । यि दुबैलाई नेपाल सरकार मन्त्रिपरिषद्को १४ पुसको बैठकले उहाँहरुलाई चार वर्षका लागि नियुक्त गरेको थियो । यसअघिका अध्यक्ष उद्योग राईको कार्यकाल गत २२ वैशाखमा र महाप्रबन्धक राजेश थापाको कार्यकाल गत १४ साउनमा सकिएको थियो ।

संस्थानमा नव नियुक्त अध्यक्ष र महाप्रबन्धकलाई संस्थानका निमित्त महाप्रबन्धक प्रभाकर शर्मा र कर्मचारीले स्वागत गरे । कार्यभार ग्रहण गर्दै अध्यक्ष र महाप्रबन्धकले अब संस्थानलाई थप व्यावसायिक र गतिशील बनाउने प्रतिबद्धता जनाए ।

अध्यक्ष अधिकारीले सांस्कृतिक क्षेत्रमा आफुहरुले धेरै काम गर्न बाँकी रहेको बताए । उनले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कुनै विदेशी आइपुग्नेबित्तिकै नेपाली संस्कृति कहाँ छ ? भनेर खोजेमा सांस्कृतिक संस्थानमा आएर हेर्नसक्ने स्थिति निर्माण गर्ने दाबी गरे ।

‘संस्थानको ठूलो हलमा साउण्ड सिस्टम व्यवस्थित गर्ने, सानो हललाई थप व्यवस्थित बनाई व्यावसायिक प्रयोगमा ल्याउने, नाटकका लागि अभ्यास गर्ने कोठा निर्माण गर्ने, पार्किङस्थललाई व्यवस्थित गर्ने र परिसरमा पानी जम्ने समस्याको समाधान गर्नेलगायतका काममा तत्काल ध्यान दिने छौं ।’ अध्यक्ष अधिकारीले भने । राष्ट्रिय जनसांस्कृतिक महासङका कार्यालय प्रमुख अधिकारी तेह्रथुम निवासी हुन् । उनी यसअघि संस्थानको सञ्चालक समिति सदस्य थिए ।

नव नियुक्त महाप्रबन्धक अशोक प्यासी राईले संस्थान सबैका लागि उपयुक्त सांस्कृतिक थलो बनाउने प्रतिबद्धता जनाए । यो चार वर्षमा आफुले गर्नु पर्ने थुप्रै कामहरु भएको र त्यो कामलाई सबैको साथ र सहयोग लिएर क्रमस गर्दै जाने पनि उनले बताए । सांस्कृतिक क्षेत्रमा प्रदर्शनसँगै अनुबन्धिनमुलक कार्य पनि गर्ने उनले बताए ।  ताप्लेजुङका राई सञ्चारकर्मी हुन् । उनी यस अघि चलचित्र विकाश बोर्डका सदस्य भएका थिए ।