दशौं नेफ्टा अवार्ड टुँडिखेलमा आयोजना हुँदै


ब्युटी न्युज नेपाल
काठमाडौं, २१ पुष

तीन वर्ष यताबाट रोकिएको ‘नेफ्टा फिल्म अवार्ड’ अब हुने भएको छ । यो अवार्डको दशौं संस्करण आगामी चैतमा आयोजना गरिने भएको छ ।

आयोजक संस्था नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा)ले सोमबार काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै अवार्डको घोषणा गरेको हो ।

‘ बिगतमा बिदेशमा हुँद आएको यो अवार्डको दशौं संस्करण भने हामी काठमाडौंको मुटु टुँडिखेलमा आयोजना गर्दैछौं । यस पटक भिजिट नेपाल २०२० भएकाले हामीले नेपालमा आयोजना गर्न लागेका हौं ।’ प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले भने ।

यो अवार्ड आगामी १५ चैतमा आयोजना गरिने भएको छ । अवार्डले नेपाल सरकारद्धारा घोषित ‘भिजिट नेपाल २०२०’ अभियानलाई पनि सघाउने प्राविधिक संघका अध्यक्ष लामाले बताए ।

संघका महासचिब सालिग्राम तिमिल्सिनाका अनुसार यसपटक २०७५ सालमा प्रदर्शनमा आएका नेपालीच चलचित्रहरुबीच खुला रुपमा ३२ विधामा अवार्डका लागि प्रतिस्पर्धा हुनेछ । कार्यक्रममा पपुलर फिल्म, पपुलर नायक, पपुलर नायिका, जनजाति फिल्म तथा लाइफ टाइम एचिभमेन्ट अवार्ड पनि प्रदान गरिने उनले जानकारी गराएका छन् । यसरी कुल ३७ विधामा अवार्ड प्रदान गरिने भएको छ ।

अवार्ड घोषणा समरोहमा सम्बोधन गर्दै नेपाल प्रहरीका प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले नेपाली चलचित्र निर्माणमा नेपाली प्राविधिकहरुको ठुला देन रहेको बताए । उनले भोलीका दिनमा युनिभर्सल स्टुडियोसम्म नेपाली प्राविधिकहरुको पहुँच पुगोस भन्ने श्भेच्छा प्रकट गरे ।

अग्रज अभिनेता भुवन केसी, अग्रज अभिनेत्री बसुन्धरा भुसाल, चलचित्र निर्देशक तुलसी घिमिरेदेखि निर्देशक दिनेश डिसीसम्मले कार्यक्रममा नेपाली चलचित्रकर्मीका लागि नेफ्टा अवार्डको महत्वबारे प्रकाश पारे ।

प्राविधिक संघका अध्यक्ष पुष्कर लामाका अनुसार प्राविधिक संघले ‘ड्रिम हाई नेपाल’ सँगको सहकार्यमा यो अवार्ड आयोजना गर्न लागेको हो । ‘ड्रिम हाई नेपाल’ का प्रमुख कमल जीसीले अवार्ड नेफ्टा अवार्डको ब्रान्ड र विश्वसनियतालाई मध्यनजर गर्दै सहकार्य गरेको उनले बताएका थिए ।

अवार्ड घोषणा समारोहमा नेपाल चलचित्र प्राविधिक संघका तर्फबाट नेपाल चलचित्र निर्देशक समाजका नव निर्वाचित कार्यसमिति पदाधिकारीहरुलाई स्वागत गरिएको थियो ।