ब्युटी न्युज नेपाल
काठमाडौं, १७ पुष

यतीेबेला केमडी च्याम्पिएन टेलिभिजनबाट प्रशारण भईरहेको छ । यही कार्यक्रमकी निर्माता एवम् अभिनेत्री केकी अधिकारी र प्रस्तोता रिमा विश्वकर्मा अमेरिका लागेका छन् । भ्वाईस अफ नेपाल कोच एवम् गायक प्रमोख खरेल पनि चाँडै अमेरिका लाग्दैछन् ।

‘मेरो डान्स कप’ को चौथो सिजन र ‘मेरो भ्वाइस कप’ को दोस्रो सिजनको लागि उनीहरु अमेरिकातर्फ लागेका हुन् । यि कार्यक्रमको काठमाडौंमा औपचारिक घोषणा गरिएको छ ।

अमेरिकाको ओहोयास्थिति एक्रोनमा जनवरी ४ तारिखमा ग्रान्ड ओपनिङ हुने ‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’ को बारेमा बिहीबार राजधानीमा एक कार्यक्रमका बीच जानकारी गराइयो । नृत्य र गायनमा रुचि हुने नव प्रतिभाहरुलाई अवसर दिने उद्येश्यले आयोजना गर्न लागिएको यी दुई रियालिटी शोको अमेरिकाको विभिन्न शहरमा अडिसन हुने अभिनेत्री केकी अधिकारीले जानकारी दिइन् । ‘मेरो डान्स कप’ मा अभिनेत्री केकी अधिकारी र ‘मेरो भ्वाइस कप’ मा गायक प्रमोद खरेल निर्णायकको रुपमा रहनेछन् ।

अडिसनबाट छानिएका करीब २० जना नव प्रतिभाले यस रियालिटी शोमा सहभागिता जनाउन पाउने उनको भनाई छ । ‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’ का विजेताले टोयोटा कार र १० तोला सुन प्राप्त गर्नेछन् । दोस्रो हुने विजेताले गोल्डेन कपसँगै आकर्षक उपहार पाउनेछन् भने तेस्रो हुनेले एउटा सिल्भर कप र आकर्षक उपहारहरु पाउने आयोजक सदस्यमध्येकी अभिनेत्री रीमा विश्वकर्माले जानकारी दिइन् ।

‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’ को उद्घाटन कार्यक्रममा सहभागी हुन बिहीबार साँझ अमेरिका प्रस्थान गरिरहेकी उनले नयाँ प्रतिभाहरुलाई अवसर र कला सस्कृतिलाई जोगाउने हिसाबले यो रियालिटी शो आयोजना हुँदै आएको बताइन् ।
‘इन्टरनेशनल होम केयर’ का सञ्चालक डिल्ली अधिकारीको आयोजनामा ‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’ हुन लागेको हो । नृत्य र गायनमा रुचि हुनेका लागि यो रियालिटी शो ओपन प्लाटफर्म रहेको अभिनेत्री केकी बताउँछिन् ।

उनी ‘मेरो डान्स कप’ को दोस्रो र तेस्रो सिजनमा पनि निर्णायकको भूमिकामा थिइन् । दुवै रियालिटी शोको ग्रान्ड फिनाले अगस्टमा हुनेछ ।

‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’ को उद्घाटन कार्यक्रममा नेपाली फिल्म र सांगीतिक क्षेत्रका चर्चित व्यक्तिहरुको उपस्थिति रहने बताइएको छ । सन्दीप क्षेत्री, बाबु बोगटी, दीलिप रायमाझी, सुशील क्षेत्री, सारंगा श्रेष्ठ, मेलिना मानन्धर, अरुणिमा लम्साल, शिव परियार, अञ्जु पन्तलगायत ३० भन्दा बढी फिल्म र संगीत क्षेत्रका व्यक्तिहरुकोे उपस्थिति रहने कार्यक्रममा जानकारी गराइयो ।

नृत्य र गायनमा रुचि हुनेहरुका लागि ‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’ एउटा ठूलो मञ्च सावित हुने उनको विश्वास छ । अभिनेत्री केकी ‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’ को उद्घाटन कार्यक्रममा सहभागी हुन बिहीबार अमेरिका प्रस्थान गरेको भएपनि गायक प्रमोद खरेल भने केही समयपछि मात्र अमेरिका जानेछन् । गायक खरेलले विदेशी भूमिमा यस खालका कार्यक्रमहरु हुनु एकदमै राम्रो रहेको बताए ।