ब्युटी न्युज नेपाल
काठमाडौं, ११ पुष

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा विहीबार साँझ भएको अन्तिम प्रतिस्पर्धामा मिस मंगोल नेपाल २०१९ को ताज ताप्लेजुङकी २५ वर्षिया सिभिरा लामाले हाँसिल गरेकी छन् । प्रतियोगिताको यो ११औं संस्करण हो ।

शिर्ष उपाधीसहित एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी लामा मिस ट्यालेन्ट र मिस पब्लिक च्वाइस पनि घोषित भईन् । सिभिराले भारतको नयाँदिल्लीबाट सि.ए. गरेकी छिन् ।

रिडी ग्रुप लिमिटेडको शिर्ष प्रायोजनमा भएको प्रतियोगितामा रोल्पाकी २२ वर्षीया रेनुका पुन फस्ट रनरअपसहित मिस मंगोल स्टेट ५ भईन् । स्नातक पुरा गरेकी रेनुकाको मिस मंगोलमा यो दोस्रो प्रयास हो । त्यस्तै काठमाडौंकी १९ वर्षिया यजु कर्माचार्य सेकेन्ड रनरअप भइन् । उनले प्लस टु पुरा गरेकी छन् ।

तेह्रथुमकी १७ वर्षिया अपेक्षा लिम्बु मिस मंगोल स्टेट १, धनुषाकी १९ वर्षीया समिक्षा सिधाली मिस मंगोल स्टेट २, काठमाडौंकी रितिका स्याङतान मिस मंगोल स्टेज ३, गोरखाकी पुजा मगर मिस मंगोल गण्डकी प्रदेश घोषित भए ।

प्रतियोगितामा नेपाली सेनाका पुर्वउपरथी होमकुमार लाओती प्रमुख निर्णायक थिए। अन्य निर्णायकमा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य अशोक लोहोरुङ राई, रिडी ग्रुप लिमिटेडका निर्देशक डीबी आले मगर, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञ परिषद सदस्य माधव प्रधान, मिस मंगोल नेपाल २०१५ डा. निमा पुन रहेका थिए ।

प्रतियोगितामा ग्ल्यामर फोटोग्राफर राजभाई सुवाल, हेयर स्टाइलिस निलडेभिड कटवाल र कोरियोग्राफर रोजिन शाक्यलाई ‘मिस मंगोल डिकेट कन्ट्रिब्युसन अनर’ प्रदान गरिएको थियो । आ आफ्नो विधामा मिस मंगोल प्रतियोगितासंग सहयात्राको एक दशक पुरा गरेको अवसरमा यो सम्मान प्रदान गरिएको हो ।

मौलिक संस्कृति, लुकेको क्षमता अभिवृद्धि एवं नेतृत्वदायी भुमिका निर्वाहलाई आधार बनाएर सन् २००९ देखि वार्षिक रुपमा आयोजना हुँदै आएको मिस मंगोलले एक दशकको अनुभवपछि मुलुकको संघीय संरचनाअनुसार नयाँ प्रणाली अँगालेको हो । यस प्रणाली अनुसार हरेक स्टेटबाट एकएक जना विजेता र समग्र सहभागीबाट मिस मंगोल नेपाल विजेता छान्ने गरिन्छ ।