श्रद्धाञ्जलीसँगै बरिष्ट कलाकार भट्टराई, क्षत्री र थापाको योगदानको चर्चा


ब्युटी न्युज नेपाल
काठमाडौं, ११ पुष

दिवंगत बरिष्ट निर्माता, अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, वरिष्ठ कलाकार द्वय दीपक क्षत्री र आनन्द थापाको शुक्रबार चलचित्र विकास बोर्डको सभाकक्षमा श्रद्धाञ्जली सभा गरिएको छ ।

सो श्रद्धाञ्जली शभामा नेपाली चलचित्र क्षेत्रका यी दिवंगत तीन जना कलाकारहरुको योगदानको स्मरण गरियो । चलचित्र सम्बन्धि विभिन्न संघ संस्थाहरुले संयुक्त रुपमा सो सभा आयोजना गरेको हुन् । श्रद्धाञ्जली सभा दिवंगत चलचित्र विसकास बोर्ड अध्यक्ष केशब भट्टराइको १३ औ पुण्य तिथीको दिन पारेर सो सभा आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्डमा सदस्य सचिव महेन्द्रप्रसाद साँखीले बोर्डका सक्रिय अध्यक्षलाई गुमाउँदाको पीडा व्यक्त गरे । बोर्डमा अध्यक्ष भट्टराई गरेका कामको स्मरण साँखीले गरे । भट्टराईकै पहलमा चलचित्र स्टुडियो निर्माणका लागि बनेपामा २९ रोपनी जग्गा छनौट भएको र त्यसै ठाउँमा स्टुडियो बनाउन सुरु गर्ने काम अन्तिम चरणमा पुगिसकेको साँखीले बताए । सो स्टुडियो निर्माणमा भट्टराईले पु¥याएको योगदान चलचित्र जगतकालागि अविस्मरणीय हुने भनाई उनले राखे । भट्टराईकै पहलमा मोफसलका सिनेमा हलहरुमा बक्स अफिस लागु गर्ने अभियान शुरु भएको पनि साँखीले स्मरण गरे ।

दिवंगत अध्यक्ष केशब भट्टाराई र बाँकी दुई कलाकारप्रति श्रद्धाञ्जली अर्पण गर्दै चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष शम्भूजीत बाँस्कोटाले भट्टराईले छोटो समयमा बोर्डमा महत्वपूर्ण कार्यक्रम गरेको बताए । दिवँगत अध्यक्ष भट्टराईले ल्याएका योजनाहरु अबको अध्यक्षले पुरा गर्नु पर्ने सल्लाह बासकोटाले दिए । क्षत्री र थापाको योगदान पनि नेपाली चलचित्रमा उत्तिकै महत्वपूर्ण रहेको उनले स्मरण गरे । भट्टराई र अरु कलाकारप्रति श्रद्धाञ्जली अर्पण गर्दै बोर्डका पूर्व कृष्ण मल्ल र राजकुमार राईले पनि भट्टराईले देखेको सपनालाई अब पुरा गर्ने पर्छ भने । दिवँगत कलाकार क्षत्री र थापाको योगदानको पनि यी दुई पूर्व अध्यक्षले स्मरण गरे ।

वरिष्ठ सिनेमा निदेर्शक तुलसी घिमिरेले आफुले निर्देशन गरेको चलचित्र कोशेलीबाट दिवंगत भट्टराईले चलचित्र जगतमा प्रवेश गरेको स्मरण गर्दै एक उत्कृष्ठ कलाकार आफुहरुले गुमाएको बताए । भट्टराईको अभियन यात्राको उनले स्मरण गर्दै उनीप्रति श्रद्धाञ्जली अर्पण गरे ।

दिवंगत तीनै जनाको योगदानको सम्झना गर्दै बोर्ड सदस्य दयाराम दाहालले चलचित्र जगतका विभिन्न संस्थाहरु एकै ठाउँमा शोक सभाको लागि भेला भए जस्तै चलचित्र क्षेत्रको विकासकालागि पनि एकजुट हुनुपर्ने धारणा राखे । भट्टराईले चलचित्र क्षेत्रको विकासकालागि विभिन्न महत्वकांक्षी योजनाहरु बनाएको सदस्य दाहलले बताए । दिवँगत अध्यक्ष भट्टराईले परिकल्पना र सुरुवात गरेको योजना र कार्यक्रम सफल बनाउन आफु लागि पर्ने प्रतिबद्धता उनले जनाए । राम्रो कामको योजना बनाउँदा बनाउँदै एउटा सहकर्मी गुमाउनु पर्दाको पीडाले आफुलाई मर्माहत बनाएको दाहालको भनाई थियो ।