ब्युटी न्युज नेपाल
काठमाडौं, ७ पुष

‘मिष्टर नेपाल २०१९’को बिभिन्न चरणबाट छानिएका अन्तिम २२ प्रतियोगी फाइनलमा शिर्ष उपाधिका लागि भिड्दै छन् ।यसै क्रममा आइतबार हिमालयन इन्टरनेशनल ह्वाइट हाउस कलेज सिंहदरबारमा प्रतियोगिताको ट्यालेन्ट, प्रि जजमेन्ट र फिजिक्स राउण्ड आयोजना भयो । सो अवसरमा सबै प्रतियोगीताले लोक तथा आधुनिक गीतमा नृत्य, गायन, अभिनय, वक्तृत्वकला, उद्घोषण लगायत बिभिन्न प्रतिभा देखाए ।

‘मिष्टर नेपाल २०१९’को अन्तिम स्पर्धा यहि पुस १० गते बिहिबार राजधानीको होटल अन्नपुर्णमा एक भब्य समारोहका बिच आयोजना हुँदैछ ।यो चरणमा हरि के सुवाल (सिए), रमिता श्रेष्ठ (ब्युटिसियन), बिकल्प राज श्रेष्ठ (मिष्टर नेपाल २०१८), सुरेस देवा, महेश केसी, सुशिल पाण्डे (निर्देशक एक्सपोज नेपाल)लगायत निर्णायकमा रहेका थिए ।

काठमाडौ, पोखरा, बिराटनगर, चितवन, धरानलगायतका देशका प्रमुख शहरबाट छानिन सफल प्रतियोगीहरु अन्तिम स्प्रर्धाका लागि कोरियोग्राफर दिक्पाल कार्की सहित अन्य धेरै प्रशिक्षकबाट स्वमिङ, फुटबल, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङग, गु्रमिङ, मेकअप, ड्रेसवेयर जस्ता विषयमा खारिएका छन् ।

प्रतियोगीताको अन्तिम तयारी समेत पुरा भएको जानकारी एक्सपोज नेपाल डटकमकी सिइयो अर्चना थापाले दिइन् । युवाहरुको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै समाजमा जिम्बेवार नागरिक बनाउने उदेश्य मिस्टर नेपालको रहेको छ । प्रतियोगीतामा शिर्ष उपाधि मिष्टर वल्र्ड नेपाल सहित मिष्टर नेपाल युनिभर्सल एबेसडर, मिष्टर नेपाल म्यान अफ द इयर, मिष्टर नेपाल मेन इन्टरनेशनलगायत घोषित हुनेछन् ।