दुई अग्रज प्राविधिकलाई प्रेमा शाह स्मृति सम्मान


ब्युटी न्युज नेपाल
काठमाडौं, ४ मँसिर

चलचित्र क्षेत्रका २ जना प्राविधिकहरु शुक्रबार एक समारोहबीच सम्मानित भएका छन् । साहित्यकार प्रेमा शाहको स्मृतीमा स्थापित गरिएको ‘पे्रमा शाह प्राविधिक सम्मान’बाट राष्ट्रिय नाचघरमा आयोजित प्रेमा शाह स्मृति सभामा दुई जना प्राविधिकलाई एकाउन्न हजार रुपैयाँ सहित सम्मान गरिएको हो ।

प्राविधिकहरु उद्धव राज भट्टराई (जुँगे) र चन्द्रिका ठाकुर सम्मानित भएका हुन् । दुबै जनालाई चलचित्र विकास बोर्डका सदस्य दयाराम दाहाल, बरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, प्रथम नायिका भुवन चन्द्र लगायतको हातबाट सम्मान गरिएको हो ।

भट्टराई तीन दशकदेखि फिल्म क्षेत्रमा कला निर्देशकको रुपमा कार्यरत छन् भने ठाकुर पनि करिब तीन दशकदेखि फिल्ममा प्रकाश व्यवस्थापको रुपमा कार्यरत छन् ।

कार्यक्रमलाई नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा) ले संयोजन गरेको हो । नेफ्टाका अध्यक्ष पुष्कर लामाले फिल्म क्षेत्रबाट टाढा रहेपनि फिल्मका प्राविधिकहरुलाई माया गरेर आमाको सम्झनामा सम्मान घोषणा गरि प्रदान गरेकोमा धन्यवाद व्यक्त गरे ।

यस्तै स्मृति सभामा निर्देशक रमेश बुढाथोकी, घनश्याम खतिवडा, दयाराम दाहाल, नायक रमेश उप्रेती, प्रथम नायिका भुवन चन्द, बरिष्ठ संगीतकार शम्भुजीत बास्कोटालगायतले प्रेमा शाहको वारेमा मन्तव्य राख्दै श्रद्धाञ्जली अर्पण गरे ।

चर्चित नायिका जल शाहकी आमा तथा साहित्यकार प्रेमा शाहको दुई बर्षको स्मृति सभालाई लक्षित गरेर नायिका जल शाहले प्राविधिक सम्मान घोषणा गरिएको हो । बार्षिक रुपमा प्राविधिकहरुलाई प्रेमा शाह स्मृति प्राविधक सम्मान प्रदान गरिने पनि जनाएको छ ।