सेन्टी भाईसरको फनफनी रुचाए दर्शकले, ६ घन्टामै दुई लाख भ्युज


ब्युटी न्युज नेपाल

काठमाडौं, ३ पुष

आगामी ९ फागुनबाट रिलिज हुने हास्य अभिनेता सीताराम कट्टेल (धुमुर्स) र कुञ्जना घिमिरे (सुन्तली)को नयाँ फिल्म ‘सेन्टी भाइरस’ नयाँ गीत लौ है फनफनी दर्शकमाझ आएको छ ।

बिहिबार काठमाडौंको बिग मूभिजमा यो गीतको भिडियो प्रेस र आफन्तका बीच रिलिज गरियो । गीतको भिडियोलाई ओएसआर डिजिटलको युट्युज च्यानलबाट रिलिज गरिएको हो ।

रिलिज भएको ६ घन्टामै यो गीतलाई च्यानलमा दुई लाख पटक हेरिसकिएको छ । भिडियो नेपाल ट्रेन्डिङको दोश्रो स्थानसम्म पुग्न सक्ने सम्भावना छ ।

चलचित्रको प्रदर्शनको ६५ दिन बाँकी हुँदा यी दम्पतीले यो चलचित्रको लोक शैलीको एउटा गीतको भिडियो रिलिज गरिएको हो । लोकशैलीको यो गीतलाई कालीप्रसाद बाँस्कोटा र मेलिना राईले गाएका छन् । गीतमा कलाकारलाई खुलेर नचाउने कोशिस गरिएको छ । गीतमा शंकर थापा स्मलाइको संगीत, डीपी खनालको शब्द रचना छ ।

गीतको भिडियोलाई शंकर बिसीले नृत्य निर्देशन गरेका हुन् । एउटा आँगनलाई चौकको दृश्यको सेट लगाएर, चुनावको माहौल देखिने गरी झन्डा झुन्ड्याएर गीतको भिडियो खिचिएको छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारको नृत्य छ । पछिल्लो समय निकै मोटाएकी नृत्य कलाकार अञ्जली अधिकारीलाई अभिनेता दयाहाङको जोडीका रूपमा नृत्य कलाकार बनाएर प्रस्तुत गरिएको छ । सीताराम र कुञ्जनाले पनि यसमा जोडी नै भएर नृत्य गरेका छन् । नृत्य कलाकारसँग विल्सनविक्रम राई, बुद्धि तामाङ, राजाराम पौडेललगायतको पनि रमाइलो नृत्य छ ।

गीतको भिडियो रिलिज समारोहमा सीताराम उपस्थित भएनन् । अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणका कारण व्यस्ताले उनी आउन नभ्याएको अभिनेत्री कुञ्जनाले बताइन् । सिनेमा हस्यप्रधान र दर्शकको मन जित्न सक्ने बनेको पनि उनले जिकिर गरिन् ।

हास्यव्यँग्य अभिनेता जितु नेपाल, केदार घिमिरे, दीपाश्री निरौला, अर्जुन घिमिरेलगायतले गीतको भिडियो सार्वजनिक कार्यक्रमा सहभागी भएर चलचित्रको सफलताको कामना गरे ।

कुमार कट्टेल र दीपक आचार्यको लेखन, डिन्डु लामा ह्याल्मोको निर्माण, शैलेन्द्र डी कार्कीको छायाँकन रहेको यो चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।