ब्युटी न्युज नेपाल
काठमाडौं, ३ पुष

यही २२ डिसेम्बरबाट ३० डिसेम्बरसम्म चीनको गन्जाओमा आयोजना हुने ‘४७ औं मिसेस युनिभर्स २०१९’ मा नेपाल र संसारभरी छरिएका नेपालीहरुको प्रतिनिधित्व गर्दै बिनु लामिछानेले भाग लिने भएकी छिन् । जसका लागि ‘टुडेज उमन मिसेस नेपाल युके’ बिनु लामिछाने यतीबेला काठमाडौंमा छिन् ।

सो प्रतियोगिताको तयारीका लागि बिनुलाई केही दिन यताबाट इन्टरनेशलन कोरियोग्राफर रोजिन शाक्यले ग्रुमिङ, प्रिजेन्टेसन, पर्सनालिटी लगायतको प्रशिक्षण दिईरहेका छन् । मिसेस युनिभर्स २०१९ को लागि आफुले अहिले सम्पूर्ण तयारी गरिरहेको बिनुले बुधबार सञ्चारकर्मीलाई बताईन् ।

मिसेस युनिभर्सको चयन आगामी ३० डिसेम्बरमा गन्जाओमै हुनेछ । आफु सो कार्यक्रममा सहभागी हुने निकै उत्साहित भएको र आउँदो आईतबार २२ डिसेम्बरमा मिसेस युनिभर्स २०१९ का लागि चीन तर्फ प्रस्थान गर्ने पनि बिनुले बताएकी छिन् । बेलायतमा डेन्टल सर्जरी प्राक्टिस म्यानेजरको रुपमा कार्यरत बिनु नेप्लिज नर्सिङ एसोसिएसन युकेकी कोषाध्यक्ष पनि हुन् ।

लामो समयदेखि बेलायत बस्दै आएकी बिनुले मिसेस नेपाल युके २०१८ को बिजेता बनेका कारण मिसेस युनिभर्समा सहभागी हुने मौका पाएकी हुन् । मिसेस नेपाल युनिभर्स २०१८की बिजेता एवम् लन्डन फेसन हाउसकी अध्यक्ष मनिषा डंगोल श्रेष्ठले मिसेस नेपाल युकेको आयोजना गर्दै आएकी छिन् । नेपाल र विदेशमा रहेका सम्पूर्ण नेपालीहरुको तर्फबाट यसपटक बिनुले चिनमा सबैको प्रतिनिधित्व गर्ने मिसेस युनिभर्सको नेशनल डिरेक्टर मनिषाले बताईन् ।

लामो समयदेखि बेलायतमा विभिन्न संघ संस्थासँग जोडिएर सामाजिक सेवा गर्दै आएकी बिनु नेपाल बाहिर रहेका नेपाली र नेपालको प्रतिनिधित्व गर्दै यसपटक मिसेस युनिभर्समा जान पाउँदा खुसी लागेको बताउँछिन् । उनले यसपटक मिसेस युनिभर्स २०१९ मा ९० देशका प्रतियोगी महिलाबीच नेपाल, नेपाली र आफ्नो देशको भाषा, कला संस्कृतिलाई चिनाउने बताएकी छिन् ।