राष्ट्रिय सम्मानसहित अभिनेता भट्टराई र क्षत्रीको अन्त्यस्टी


ब्युटी न्युज नेपाल
काठमाडौं, ३० मँसिर

हामीले नेपाली चलचित्र क्षेत्रका दुई होनहार अभिनेता केशब भट्टराई र दीपक क्षत्रीलाई गुमाएका छौं । हृदयघातबाट आईतबार बेलुका सवा १० बजे बरिष्ट अभिनेता एवम् चलचित्र विकाश बोर्डका अध्यक्ष केशब भट्टराई र हृदयघाटबाटै शनिबार अर्का अभिनेता दीपक क्षत्रीलाई हामीले गुमाएका हौं ।

५१ वर्षीय भट्टराई र ५८ वर्षीय क्षत्रीको सोमबार अपरान्ह पशुपति आर्यघाटमा हजारौं शुभचिन्तकहरुको उपस्थितिमा राष्ट्रिय सम्मानसाथ अन्त्यस्टी गरिएको छ । सो क्रममा भट्राईलाई छोरा बिडु र दुई भाईले तथा क्षत्रीलाई उनका छोराले दागबत्ती दिए ।

अध्यक्ष भट्टराई र अभिनेता क्षत्रीको पार्थिव शरीरलाई सुरुमा चलचित्र विकाश वोर्ड चावहिलको प्रँगनमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । सो क्रममा नेपाल सरकारका तर्फबाट उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले बोर्ड अध्यक्ष एवम् अभिनेता भट्टराई र अभिनेता क्षत्रीको पार्थिव शरीरमा फुल चढाउँदै श्रद्धाञ्जली अर्पण गरे । यी दुई होनहार अभिनेताको निधनले कला क्षेत्रलाई ठुलो क्षती भएको उपप्रधानमन्त्री पोखरेलले बताए ।

यी दुबै अभिनेताको पार्थिव शरीरमा नेपाली चलचित्र क्षेत्रका अधिकाँस कलाकारले पुष्पा गुच्छा चढाउँदै अन्तिम दर्शन गरे । सो क्रममा नेपाली चलचित्र क्षेत्रका अधिकाँस कलाकार, प्राविधिक, निर्माता, निर्देशक, लेखक, प्रदर्शक तथा शुभचिन्तक र दिवँगतका आफन्तहरु यी दुई वरिष्ट अभिनेताको अन्तिम दर्शकका लागि बोर्ड र आर्यघाटमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा पुगेका थिए । दुई होनहार बरिष्ट कलाकार गुमाउँदा धेरैले आँशु थाम्न सकेनन् ।

अभिनेता दीपक क्षत्रीको पार्थिव शरीर

एक घन्टासम्म बोर्डमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएपछि दुबै अभिनेताको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा श्रद्धाञ्जलीका लागि राखियो । सञ्चार सूचना तथा प्रविधि मन्त्री गोकुल बासकोटाले नेपालको झन्डा ओढाएर अभिनेता भट्टराई प्रति श्रद्धाञ्जली अर्पण गरे । उनले अभिनेता क्षत्रीप्रति पनि श्रद्धाञ्जाली अर्पण गरे । शहरी विकाश राज्यमन्त्री रामवीर मानन्धरलगायत विभिन्न चलचित्रकर्मीसँगै शुभचिन्तकहरुले अभिनेता भट्टराई र क्षत्रीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरे ।

सो क्रममा नेकपाका केन्द्रिय सदस्य खगेन्द्र राईले बोर्डका अध्यक्ष एवम् जनसाँस्कृतिक महासंघका केन्द्रिय सदस्य समेत रहेका केशब भट्टराईलाई नेकपाको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे । यस्थै जनसाँस्कृतिक महासंघका सह संयोजक सरल सहयात्रीले भट्टराईको पार्थिव शरीरमा महासंघको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे ।

दुबै बरिष्ट अभिनेतालाई आफ्ना छोराहरुले दागवत्ति दिएका हुन् । सो दागवत्ति दिने क्रममा नेपाल प्रहरीले दुबै कलाकारलाई नेपाल ससरकारका तर्फबाट राष्ट्रिय सम्मान सहित सलामी अर्पण गरे । सो क्रममा यी दुई बरिष्ट अभिनेताको अन्तिम संस्कारका क्रममा परिवारजन सहित सबैका आँखा रसाएका थिए ।

दिवँगत अभिनेता भट्टराईका परिवारमा ६ दाजुभाई, आमा सहित एक छोरा बिडु भट्टराई र श्रीमती निता भट्टराई छन । अभिनेता क्षत्रीको परिवारमा श्रीमती कलाकार बिपना थापा, छोरी अभिनेत्री रिस्ता थापा र एक छोरा छन् ।