किम्फमा ‘पियानो टु झंस्कर’ लाई दुई लाख पुरस्कार


ब्युटी न्युज नेपाल
काठमाडौं, ३० मँसिर

पर्वतीय विषयवस्तुमा आधारित फिल्महरुको काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) आइतबार बेलुकाबाट सकिएको छ । यो महोत्बसको अन्तर्राष्ट्रिय प्रतिष्पर्धा तर्फको प्रथम पुरस्कार माइकल सुलिमाको ‘पियानो टु झंस्कर’ ले जितेको छ । फिल्मले दुई लाख रुपैयाँ हात पार्न सफल भएको छ । त्यस्तै, कलानी जाकोनको ‘जर्नी टु द सेन्टर अफ द हर्ट’ दोस्रो हुँदै एक लाख ५० हजार रुपैयाँ प्राप्त गरेको थियो ।

त्यस्तै मार्गा गुटेरिजको ‘रोप्स्’ ले तेस्रो हुँदै एक लाख रुपैयाँ जितेको छ । नेपाल पानोरामा अन्तर्गत केदार श्रेष्ठको ‘जुनुको जुत्ता’ उत्कृष्ट कथानक (फिक्सन) र प्रणवनारायण मानन्धरको ‘पोट्रेड अफ माने’ गैर–कथानक (ननफिक्सन) फिल्म घोषित हुँदै क्रमशः एक लाख र ७५ हजार रुपैयाँ प्राप्त गरेको थियो । सो अवार्डहरुलाई मिला प्रोडक्सन प्रालि र नेपाल चलचित्र विकास बोर्डद्वारा गरिएको छ ।

किम्फमा प्रदर्शित यसवर्षको उत्कृष्ट साहसिक पर्वतीय फिल्म जोस्ट भानको ‘ड्रोम्मेल्याण्ड’ हुन सफल भएको छ । उत्कृष्ट फिल्मलाई पासाङ ल्यामु शेर्पा फाउन्डेसनबाट एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरेको छ । धोंडुप छिरिङको ‘आमा खान्डो’ ले सबैभन्दा बढी दर्शकहरूको रोजाईमा परेर ‘अडियन्स अवार्ड’ जितेको थियो । मुस्ताङको परिवेशमा खिचिएको यस फिल्ममा आमा र सन्तानको मार्मिक सम्बन्धलाई प्रस्तुत गरिएको थियो । फिल्मले ७५ हजार रुपैयाँको राशी जितेको छ जसको प्रायोजन अस्कर इन्टरन्यासनल कलेजले गरेको छ ।

यसपटक किम्फले आयोजना गरेको ‘परिवर्तित नेपाल’ शीर्षकको तीन मिनेटको सर्ट फिल्म प्रतियोगितामा नवविजय प्रकाश श्रेष्ठको ‘एकता’ पहिलो, भिरा फिल्म्स्को ‘अल्टर द चेन्ज’ दोस्रो र दीपक सुब्बाको ‘द रेड स्काफ’ तेस्रो हुँदै क्रमश ः ४० हजार, ३० हजार र २० हजार जितेका थिए । महोत्सवमा ‘परिवर्तित नेपाल’ छनोट भएका उत्कृष्ट १० फिल्म प्रदर्शन भएका थिए ।

किम्फको १७ औं संस्करणमा नेपाललगायत २९ देशका ७९ वटा फिल्महरू प्रदर्शन भएका थिए । फिल्म हेर्ने दर्शकको अपेक्षाअनुरूप साहसिक खेलकुद, पर्वतारोहण, पर्वतीय समाज र संस्कृति, पर्वतीय जीवनशैली तथा वातावरण संरक्षण लगायत विषय समेटिएका वृत्तचित्र, कथानक चलचित्र, लघु चलचित्र र प्रयोगवादी फिल्महरू प्रदर्शन भएका थिए ।

‘पछाडी पारिएकाहरुको अवाज’ नारासहित आयोजना भएको महोत्सवको समापनमा स्वीस कथानक फिल्म ‘हाइडी’ प्रदर्शन गरिएको थियो । महोत्सवमा फ्रेन्च नागरिक डेनिस पौलेद्वारा खिचिएका नेपालका ४० वर्ष पुराना तस्बिरहरूको प्रदर्शनमा राखिएका थिए । यसपटक महोत्सवमा फिल्म प्रदर्शनीसँगै विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) को हिउँचितुवा संरक्षणसम्बन्धी स्टोरी टेलिङ कार्यक्रम आयोजना गरेको थियो । त्यस्तै, महोत्सवमा प्लान इन्टरनेसनलको महिला सशक्तिकरणसम्बन्धी कार्यक्रमपनि आयोजना भएको थियो । यसपटक ब्रिटिस काउन्सिलको तर्फबाट छलफल र फिल्म प्रदर्शनी गरिएका थिए । एसियाली कला संग्रहालयबारे छिरिङ शेर्पा र साहसिक फिल्म निर्माणसम्बन्धी माइकल डिलनले मास्टरक्लास दिएका थिए ।

हिमाल एसोसिएसनले सन् २००० देखि आयोजना गर्दै आएको किम्फ सन् २०००–२००६ सम्म दुई–दुई वर्षको अन्तरालमा आयोजना भएका थिए । सन् २००७ यता महोत्सव प्रत्येक वर्ष आयोजना गरिदैं आएको छ । किम्फका अध्यक्ष वसन्त थापाले महोत्सव सुरु हुँदा कहिले सकिएला जस्तो हुन्छ, सकिने बेलामा रुनु मन लाग्छ । तथापी अर्को वर्षको किम्फमा उत्कृष्ट फिल्महरु लिएर आउने वाचासहित विजेताहरुलाई बधाई दिएका थिए । ‘नेपाली फिल्महरुलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउन वर्षेनी महोत्सवको आयोजना गरिरहेका छौं । नेपालमा स्वतन्त्र फिल्म निर्माण गर्न किम्फले फिल्ममेकरहरुलाई प्रोत्साहित गरिरहेको छ । फिल्म भनेको बौद्धिक र सिर्जनात्मक हुन्छ भन्ने मान्यता किम्फले स्थापित गर्न लागिपरेका छौं,’ महोत्सवको आयोजक हिमाल एसोसिएसनका कार्यकारी निर्देशक तथा किम्फका अध्यक्ष वसन्त थापाले भने ।

गत मंसिर २५ देखि आइतबारसम्म राजधानीको सभा गृह र नेपाल पर्यटन बोर्डमा किम्फ सञ्चालन भएको थियो । महोत्सवमा १७ वटा फिल्म प्रतिस्पर्धात्मक खण्डमा र ३२ फिल्म गैर–प्रतिस्पर्धात्मक खण्डमा समावेश भएका थिए । नेपाली पानारोमाअन्तर्गत १४ वटा फिल्महरु प्रदर्शन भएका थिए ।