आजबाट पोखरामा आठौं नेपाल लिटरेचर फेस्टिभल


ब्युटी न्युज नेपाल
काठमाडौं, २७ मँसिर

बुक वर्म फाउण्डेसन र र्यान्डम रिडर्स सोसाइटीको संयुक्त आयोजनामा आजबाट ३० मंसिरसम्म ‘आइएमई नेपाल लिटरेचर फेस्ष्टिभल–२०१९’ आयोजना हुने भएको छ । यो फेस्टिभलका फेवाताल किनारमा आयोजना हुँदैछ । तीन वर्ष जस्तै यस वर्ष पनि यो अन्तर्राष्ट्रिय साहित्य महोत्सव पोखराको फेवाताल किनारमा रहेको नेपाल पर्यटन बोर्डमा हुँदैछ ।

बुकवर्म फाउन्डेसनका निर्देशक अजीत बरालले फेस्टिभलका अघिल्ला संस्करणभन्दा यसपटक नयाँ ९८ प्रतिशत नयाँ वक्तालाई उभ्याइने बताएका छन् । चार दिनसम्म पोखराको बाराहीघाटमा हुने महोत्सवमा १ सय १० भन्दा बढी वक्ता सहभागी हुनेछन् । यो फेस्टिभलमा ४० सेसनमा देशविदेशका चर्चित साहित्यकार, लेखक, विचारक, पत्रकार, सम्पादक, संगीतकार, सेलिव्रेटीबीच अन्तक्र्रिया हुने छ ।

महोत्सव उद्घाटन गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले गर्ने छन् । सो अवसरमा २५ हजार अमेरिकी डलर अर्थात साढे २७ लाख रुपैयाँ बराबरको दक्षिण एशियाली डिएससी पुरस्कार पनि वितरण गरिनेछ । सो पुरस्कारको लागि मनोनीत ६ मध्ये एकलाई महोत्सवको अन्तिम दिन उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा वितरण गरिने छ । पुरस्कार सहसंस्थापक सुरिना नरुलाले भनिन्, ‘हामी आइएमई नेपाल साहित्य महोत्सवसँग सहकार्य गर्न पाउँदा उत्साहित छौँ । पोखरामा हुने महोत्सवमा यसपटक डिएससी पुरस्कारको विजेता घोषणा गर्दै छौं ।’

र्यान्डम रिडर्स सोसाइटी अध्यक्ष केशवशरण लामिछानेले फेस्टिबलले पोखरेली साहित्य उजागर गर्न मद्दत पुगेको दाबी गरेका छन् । पहिलो दिन आज लेक रहे पो रहला लेकसाइड, समानताको लडाईँ, हास्यव्यङ्ग्य : भैरव अर्याल मीमांशा, संघीयाको सकस, बाह ! गजल, बालबालिकाको हातमा मोवाइल कि पुस्तक ? आफ्नै गाउँ फर्की आएँ बिषयमा अन्तरक्रिया हुने छ ।

पहिलो दिन आज नै काव्यिक आन्दोलनबारे दोस्रो दिन लोकगीत कि लोकप्रियता, सपनाको सम्मान, अध्ययनको भोक, दृष्टिदान, बतासमा बारुदको गन्ध : नक्सलवाददेखि लेखनसम्म, जाग, लम्क, चम्क हे : खेलकुद जगतका बदलिँदा आदर्श, नेपाल नेक्ससः राजनीतिमा भूराजनीति, नारायण ढकालको पुस्तक ‘तमस’ विमोचन, कारागारमा किताबी संसार, राजनीतिको अपराधिकरण : अपराधको राजनीतिकण, राइटिङ होम एण्ड द होमल्याण्ड लगायत सेसन हुनेछ ।

यस्तै, २८ मँसिरमा अबको नेतृत्व कस्को ? पावर सस्टेनेब्ली, मुर्झाएको निबन्ध, नेपाली समाजको वर्गविन्यास, हामीले बाँच्न चाहेको नेपाल, राइटिङ इन द एज अफ पपुलिज्म, नेपाली बजारको विश्वव्यापीकरण, कथाका अन्तक्र्रिया हुनेछ ।

शनिबार नै भगसागर घिमिरेको पुस्तक ‘हजुरबाको बगैँचा’ र हेमलता राईको चङ्गा चैट’ विमोचन, किन हुर्किनुपर्छ बालसाहित्य ?, ट्रान्सलेटिङ सायथ एशिया, आर्टिफिसियल इन्टेलिजेन्स र कलाको नयाँ परिभाषाबारे र अन्तिम दिन पात्रको तयारी, विदेशी मिडियामा नेपाल, कहाँ आइपुग्यो सिंहदरबार ? शिवालिक सभ्यता, हिन्दी कविता वाचन, छाउ विद्रोह, राइटिङ द पास्टबारे दुई कक्षमा सेसन चल्नेछ ।

यो आठौं संस्करणको नेपाल लिटरेचर फेस्टिभल हो । बिगत चार वर्षयता सन् २०१६ देखि यो फेस्टिभल लगातार पोखरामा हुँदै आएको छ । यो सन् २०११ मा पहिलो पटक ललितपुरमा भएको थियो ।