ब्युटी न्युज नेपाल
काठमाडौं, २४ मँसिर

नेपाल अमेरिका अन्तराट्रिय चलचित्र महोत्सवको चौथो संस्करणको घोषणा भएको छ । यो महोत्सब २०२० जुन २६ देखि २८ सम्म आयोजना हुने भएको छ । अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गैरनाफामुलक संस्था नेपाल अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष यो महोत्सवको आयोजना गर्दै आएको छ ।

वासिङ्गटन डिसी महानगर क्षेत्रमा केन्द्रित रहेर आयोजना गरिने चौथो अन्तराष्ट्रिय चलचित्र महोत्सवसका लागि विश्वभरिबाट आवेदन खुला गरिएको छ । चलचित्र महोत्सवसमा नेपालका फिचर फिल्म, वृत्तचित्र , छोटा चलचित्र, एनिमेशनका साथै सबै विधाका चलचित्रहरु प्रदर्शन गरिनेछन् । नेपाल बाहेक अमेरिका, दक्षिण एसिया सहित विभिन्न देशका स्वतन्त्र सिनेमाहरु यस महोत्सवको उच्च प्राथमिकतामा पर्नेछन् ।
गत जुन महिनामा मेरिल्याण्डको एएफआइ सिल्भर थिएटर, सिल्भरस्प्रिङ्ग र रेगल सिनेमा ह्यास्भिलमा सम्पन्न महोत्सवमा निर्देशक बिनोद पौडेलको ’बुलबुल’ उद्घाटन चलचित्र र निर्देशक प्रवीन स्याङ्ग्बोको चलचित्र ’कथा’७२ ’ समापनमा प्रदर्शन भएको थियो । महोत्सवले प्रत्येक वर्ष एउटा उचाइ बढाउदै लगेको छ । नेपाली मात्र होइन, अमेरिकामा रहेका अन्तर्रा्ष्ट्रिय डायस्पोराको साझा मंचको रुपमा स्थापित गराउने लक्ष्य आयोजकको रहेको छ ।

गत वर्ष देखि वासिङ्गटन डीसी,मेरिल्याण्ड र भर्जि्नियाका स्थानीय चलचित्रकर्मीहरुलाई प्रोत्साहान गर्न ‘डीएमभी क्लोजअप’ प्रदर्शनी थपिएको थियो । २०२० मा पनि ’डीएमभी क्लोजअप’ झन् बृहत गरिने छ । स्थापना देखिने ग्लोबल पिस फिल्म फेस्टिवल फ्लोरिडासँगको सहकार्यमा प्रदर्शन हुदै आएको चलचित्रहरु आगामी वर्ष पनि समावेश हुने जनाइएको छ ।

अन्तर्राष्ट्रिय चलचित्रकर्मीहरुको समितिले आवेदन परेकामध्येबाट उत्कृष्ट चलचित्रहरु प्रदर्शनका लागि छनोट गर्नेछन् । प्रदर्शन गरिएका मध्येबाट उत्कृष्ट चलचिहरुलाई पुरस्कृत पनि गरिनेछ । महोत्सवको अवधिमा चलचित्र, संस्कृति र नयाँ प्रविधिबारे प्यानल छलफल तथा कार्यशालाहरु पनि आयोजना हुनेछन् । महोत्सवमा चलचित्र प्रदर्शन पछि उपस्थित निर्देशक, निर्माता तथा कलाकारसँग अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिने आयोजकले जानकारी दिएका छन् ।

चलचित्रको आवेदन अनलाइन मार्फत दिन सकिने व्यवस्था गरिएको छ । नेपालका चलचित्रकर्मीहरुले अनलाइन वा मानव अधिकार चलचित्र केन्द्रको कार्यालयमा आवेदन दिन सक्ने छन् । आवेदन सम्बन्धिका विवरण तथा नियमहरु संस्थाको वेभसाइटमा उपलब्ध छ ।