किरणलाई दीर्घ साधना, ४० श्रष्टालाई म्युजिक खबर अवार्ड


ब्युटी न्युज नेपाल/सरिता भारती 
काठमाडौं, २० मँसिर

विभिन्न विधामा करिब चार दर्जन अवार्ड प्रदान गर्दै ८औं संस्करणको म्युजिक खबर म्युजिक अवार्ड २०७६ काठमाडौंमा सम्पन्न भएको छ ।

म्युजिक खबर पत्रिकाले आयोजना गरेको समारोहमा बरिष्ट गीतकार किरण खरेललाई २५ हजार ५ सय ५५ रुपैयाँ सहितको दीर्घ साधना सम्मान २०७६ बाट सम्मानित गरियो । समकालिन पुस्ताका संगीतकार आलोक श्री र गायिका सिन्धु मल्ललाई दशकको स्रष्टा सम्मानबाट सम्मान गरियो ।

पत्रकार विजयरत्न तुलाधरलाई ५ हजार ५ सय ५५ रुपैयाँको म्यूजिक खबर संगीत पत्रकारिता पुरस्कार र अर्का पत्रकार मणिराज गौतमलाई ‘म्यूजिक खबर मोफसल संगीत पत्रकारिता पुरस्कार’ प्रदान गरियो । यस्तै युवा प्रतिभा सम्मान गायक नवीन पौडेललाई, बाल प्रतिभा प्रोत्साहन सम्मानबाट गायिका क्रिस्टिना श्रेष्ठलाई प्रदान गरियो ।

सुगम तर्फ प्रमोद र मिना उत्कृष्ट
म्युजिक खबर साप्ताहिकले आयोजना गरेको सो अवार्ड समारोहमा सुगम सँगीततर्फ गायकको अवार्ड यो कुरा गोप्य…गीतबाट प्रमोद खरेललाई र गायिकाको अवार्ड देउरालीको फूल…बाट मिना निरौलालाई प्रदान गरियो । गत वर्ष यो अवार्ड समारोहमा बिराटनगर पुगेको प्रमोद यसपटक काठमाडौंमा अवार्ड समारोह हुँदा पनि सहभागी हुन सकेनन् । सुगम संगीतकारको अवार्ड विन्ती छ मलाई…गीतबाट ज्योति प्रकाश विकलाई, गीतकारको अवार्ड धनले होइन मनले…बाट अर्जुनरत्न भिखारीलाई प्रदान गरियो । उत्कृष्ट गीतिसँग्रहको अवार्ड पनि भाखरीले नै पञ्चामृतबाट पाए ।

यस्तै संगीत संयोजन सुगम संगीतको अवार्ड मेरो भागको खुशी…बाट उदयराज पौडेललाई, ध्वनि सम्पादकको अवार्ड धनले होइन मनले…बाट किशोर थापालाई, नवप्रतिभा पुरुष सुगम संगीतको अवार्ड पिरिम नलाउने…बाट आशिष सचिनलाई प्रदान गरियो । यही गीतबाट आशिषले बिगतमा पप गीतको अवार्ड थापेका थिए । नवप्रतिभा महिला सुगम संगीतको अवार्ड आँखैमा लाउने..बाट बेनिशा पौडेललाई र गजलतर्फको अवार्ड भए पनि अफगान…बाट लोकराज अधिकारीलाई प्रदान गरियो ।

सुगम संगीत तर्फ म्यूजिक भिडियो निर्देशकको अवार्ड म निदाएसी आयौ…बाट प्रकाश धिताललाई, छायाँकारको अवार्ड त्यो रात बिर्सन…बाट राजेश घिमिरेलाई, सम्पादकको अवार्ड त्यो रात बिर्सन…बाटै विष्णु शर्मालाई प्रदान गरियो । यस्तै मोडलको अवार्ड महिलातर्फ नाकैको टुप्पोमा…बाट विनु शाक्यलाई र पुरुषतर्फको अवार्ड सलल बगेको पानी…बाट बिनोद न्यौपानेलाई प्रदान गरियो । यस्तै युगल गायनमा कर्के नजर…बाट टीका प्रसाईं र सञ्जीव पराजुलीलाई, महिला गीतकारको अवार्ड लैजाउन मलाई…बाट दाना श्रेष्ठ कादम्बरीलाई, राष्ट्रिय भावको गीतको अवार्ड जननी जन्मभूमिश्च…बाट रमेश दाहाललाईलाई प्रदान गरियो ।

पपमा महेन्द्र र टिका उत्कृष्ट
यस्तै सर्वोत्कृष्ट गीत पप आधुनिक तर्फ नाच फिरिरी…बाट महेश काफ्लेलाई प्रदान गरियो । यतीबेला दर्शक दीर्घाबाट पिरेम नलाउने…गीत उत्कृष्ट हुन्छ भन्ने हुटिङ आएको थियो । पप गायिकाको अवार्ड मायाँ लुकी लुकी…बाट टीका प्रसाईलाई, पप गायकको अवार्ड हेर यी आँखामा…महेन्द्र रायमाझीलाई प्रदान गरियो । पप गायकमा भने दर्शकदीर्घाबाट सचिन रौनियारको नाममा हुटिङ आएको थियो । पप संगीतकारको अवार्ड मायाँ लुकी लुकी…बाट आशिष अबिरललाई, पप गीतकारको अवार्ड आँखामा गाजल…बाट डीपी खनाललाई प्रदान गरियो । शब्द तर्फ अग्रज सँगीतकर्मीले यो मन उड्यो…गीतले पाउने आशा गरेका थिए ।

चलचित्रतर्फ छक्का पञ्जा ३ को बर्चश्व
चलचित्र सँगीत तर्फ सबै अवार्ड चलचित्र छक्का पञ्जा ३ को पहिलो नम्बरमा लाई प्रदान गरियो । पहिलो नम्बरमा…गीतबाट पाश्र्व गायिकाको अवार्ड विन्दु परियारलाई, पाश्र्व गायकको अवार्ड डेविड शंकरलाई र चलचित्र संगीतकारको अवार्ड दिपक शर्मालाई प्रदान गरियो । चलचित्र गीतकारको अवार्ड ए मेरो हजुर ३को जिन्दगी भन्दिन…बाट एकनारायण भण्डारीलाई प्रदान गरियो ।

कुलेन्द्र र लक्ष्मीलाई लोक दोहोरीमा अवार्ड
यस्तै लोकदोहोरी गायकको अवार्ड सालको पात…बाट कुलेन्द्र विकलाई, लोकदोहोरी गायिकाको अवार्ड लोभी आँखा…बाट लक्ष्मी मल्ललाई र उत्कृष्ट लोक दोहोरी गीतको अवार्ड गलबन्दी…बाट प्रकाश सपुतलाई प्रदान गरियो । जबकी गलबन्दी च्यातियो…गीतलाई बरिष्ट सँगीतकार शम्भु राईको गीतको चोरी गरेको अरोप सहित कारवाही गरिएको थियो । चोरीको गीत पनि उत्कृष्ट भयो भनेर कार्यक्रममा राम्रै टीका टिप्पणी सुन्न पाईयो । समारोहमा नव प्रतिभा लोकदोहोरी गायकको अवार्ड आकाश रुन्छबाट देवनारायण मगरले र गायिकाको अवार्ड आकाश रुन्छ…बाट सुस्मिता घर्तीले पाईन् ।

लोकदोहोरी संगीत संयोजनको अवार्ड माया गर्थें मैले…बाट जुजु गुरुङले, लोकदोहोरी मिक्सिङ अवार्ड बोल माया…लेबाट मानबहादुर बरालले, लोकदोहोरी शब्दको अवार्ड छोरो अमेरिका छ…रमेश बिजीले, लोकदोहोरी भाकाको अवार्ड लोभी आँखा…बाट वसन्त थापाले पाए । धेरैले सालको पात भनेर हुटिङ गरे पनि लोक दोहोरी भाकामा बसन्तको सालको पात…मनोनयनमै परेका थिएन ।

यस्तै लोकगीत तर्फ गायकको अवार्ड चैते दशैं…बाट अशोक मुकारुङलाई, गायिकाको अवार्ड खबर पाइनँ…बाट कृष्णा परियारलाई, सांस्कृतिक गीतको अवार्ड लमजुङ्गे ठाडो भाका…बाट हरिमाया गुरुङ र कृष्णमान श्रेष्ठलाई प्रदान गरियो ।

लोक दोहोरी मोडलमा अञ्जलीलाई अवार्ड
उत्कृष्ट मोडलको अवार्ड पाउने आशा गरेका शँकर बिसीले पान खायो मायाले…गीतको भिडियोबाट पपुलर अवार्ड पाए । जबकी यही गीतबाट अन्जली अधिकारीलाई लोकदोहोरीतर्फको महिला मोडल अवार्ड प्रदान गरियो । मोडल पुरुष लोकदोहोरीतर्फको अवार्ड लालुमै…बाट सन्दिप न्यौपानेलाई र लोकदोहोरी गीत भिडियो निर्देशकका अवार्ड अभाव…बाट स्मृति तिमिल्सिनालाई प्रदान गरियो ।

प्रकाश र शर्मिलालाई जुरी अवार्ड
कार्यक्रममा तिम्रो मायाले…बाट चिरञ्जिबी भण्डारीलाई र बासना…बाट किस्ना आचार्यलाई इन्करेजमेन्ट अवार्ड प्रदान गरियो । यस्तै जुरी अवार्ड माथी है लेकमा…गीतबाट प्रकाश गुरुङ÷शर्मिला गुरुङलाई प्रदान गरियो । कार्यक्रममा विभिन्न कलाकारले नृत्य एवम् गायन प्रस्तुत गरेका थिए ।