ब्युटी न्युज नेपाल
काठमाडौं, १८ मँसिर

आठौं संस्करणको म्युजिक खबर म्युजिक अवार्ड–२०६७ मा विभिन्न व्यक्तिलाई सम्मानित तथा पुरस्कृत गरिने भएको छ । शुक्रबार काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा यो अवार्ड आयोजना हुने भएको छ ।

सो समारोहमा राष्ट्रिय भावको गीत, चलचित्र, आधुनिक, लोक दोहोरी, लोकगीत, पप, गजल, कल्चरल गीतहरु समावेश गरिने छ । अवार्डमा गायक गायिका, रचनाकार, संगीतकार, एरेन्जर, ध्वनि सम्पादक, भिडियो निर्देशक, छायाँकार, सम्पादक, उत्कृष्ट गीत लगायतका विविध विधाहरु करिब ४० ओटा अवार्ड प्रदान गरिने भएको छ ।

समारोहमा यो वर्षको दीर्घ साधना सम्मानबाट वरिष्ठ गीतकार किरण खरेललाई सम्मानित गरिने भएको छ । यस्तै दशकको स्रष्टा सम्मानबाट संगीतकार आलोक श्री र गायिका सिन्धु मल्ललाई सम्मानित गरिने भएको छ ।

सो समारोहमा डायस्पोरा संगीत सम्मानबाट अमेरिकामा बस्ने गीतकार ज्ञानेन्द्र गदाललाई, युवा प्रतिभा संगीत सम्मानबाट लोकदोहोरी गायक नवीन पौडेललाई र बाल प्रतिभा प्रोत्साहन सम्मानबाट बालगायिका क्रिस्टिना श्रेष्ठलाई सम्मानित गरिने म्युजिक खबरले जनाएको छ ।

यस्तै संगीत पत्रकारिता पुरस्कार पत्रकार विजयरत्न तुलाधरलाई र मोफसल पत्रकारिता सम्मान हेटौंडाका मणिराज गौतमलाई प्रदान गरिने म्युजिक खबरका अध्यक्ष सुमन पण्डितले जानकारी गराए ।