ब्युटी न्युज नेपाल
काठमाडौं, ११ मँसिर

शुभकामना मिडिया शोलुसन प्रालिले आठौं प्रभु पे म्यूजिक खबर म्यूजिक अवार्ड २०७६ का उत्कृष्ट पाँचभित्र मनोनयनमा परेका स्रष्टा र सिर्जनालाई मनोनयनको प्रमाण पत्र प्रदान गरेको छ ।

अवार्डमा गीतसंगीतका ४० विधामा पर्न सफल सर्जक र उनीहरुको सृजनालाई प्रमाण पत्र प्रदान गरिएको हो । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ (रायन), म्यूजिक खबरका निर्देशक मिलन मोक्तान, पूर्व अर्थमन्त्री तथा वरिष्ठ गीतकार एसपी कोइराला, गीतकार संघ नेपालका अध्यक्ष चुडामणि देवकोटा, त्रिभुवन विश्वविद्यालय ललितकला विभागको प्रमुख वरिष्ठ गायिका संगीतका राना प्रधान, संगीत उद्योग संघ नेपालका अध्यक्ष सूर्य मगर, प्रभु पेका नारायण ढकाल, चलचित्र लेखक निर्देशक मोहन निरौला, संगीतकर्मी पृथ्वी थकाली, आरसी कोइराला, उज्ज्वल जंग ठकुरी, कार्यक्रम निर्देशक शान्तिप्रिय, आईएफएफटीका निर्देशक फुपु तेन्जिङ शेर्पा लगायतले कलाकारलाई मनोनयनको प्रमाणपत्र कार्यक्रममा प्रदान गरे ।

कार्यक्रममा स्वागत गर्दै निर्देशक शान्तिप्रियले अवार्डका बारेमा नकारात्मक टिप्पणी गर्नुभन्दा अवार्डलाई सबै मिलेर कसरी राम्रो गर्न सकिन्छ भन्ने तर्फ लाग्नु उत्तम भएको हो भने ।

त्यस्तै अवार्डलाई शुभकामना दिँदै गीतकार संघ नेपालका अध्यक्ष चुडामणि देवकोटाले म्यूजिक खबर एउटा गीतसंगीत क्षेत्रका ब्राण्ड नै बनिसकेको हुँदा यसको गरिमा नै उच्च भएको बताए ।

त्यसैगरी त्रिभवुन विश्वविद्यालय ललितकला विभागकी प्रमुख वरिष्ठ गायिका संगीता रानाले म्यूजिक खबरसँग जोडिएर गीतसंगीतको क्षेत्रमा क्रियाशील कलाकारलाई सम्मान र प्रोत्साहन गर्नु प्रशंसनीय कार्य भएको बताइन् ।

वरिष्ठ गीतकार एसपी कोइरालाले म्यूजिक खबरले गरेको अवार्ड कार्यक्रमलाई नजिकबाट मूल्यांकन गरिरहेको बताउँदै गीतसंगीतमा पत्रकारिताका माध्यमले होस् या अवार्डका माध्यमले म्यूजिक खबरले महत्वपूर्ण योगदान दिएको उल्लेख गरे ।

अवार्डका सल्लाहकार मोहन निरौलाले म्यूजिक खबरसँग सुरुको वर्षदेखि नै हालसम्म सहकार्य गर्दै आउँदा म्यूजिक खबरले स्रष्टा कलाकारको हितमा महत्वपूर्ण कार्य गरेको बताए ।

आठौं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयनको प्रमाण पत्र प्रदान गर्ने कार्यक्रममा प्रभु पेको तर्फबाट बोल्दै नारायण ढकालले अबदेखि आगामी वर्षहरुमा पनि ‘प्रभु पे’ निरन्तर म्यूजिक खबरसँग सहकार्य गर्दै अगाडी बढ्ने प्रतिबद्धता जनाए ।
धन्यवाद ज्ञापन गर्दै कार्यक्रममा अध्यक्ष सुमन पण्डितले कलाकारहरुकै लागि अवार्ड आयोजना गरेको बताउँदै वर्षमा एक दिन मेला महोत्सवका रुपमा अवार्डलाई लिन अनुरोध गरे ।

म्यूजिक खबर म्यूजिक अवार्ड यही मंसिर २० गते नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा सम्पन्न हुँदैछ । गीतसंगीतका ४० विधामा आयोजना गरिएको यो अवार्डमा लामो समयसम्म गीतसंगीतमा सेवा गर्ने एक स्रष्टालाई दीर्घ साधना सम्मान प्रदान गरिने छ ।

त्यस्तै अवार्डमा दशकको सम्मान, डायस्पोरा संगीत सम्मान, पत्रकारिता संगीत सम्मान, बाल प्रतिभा प्रोत्साहन सम्मान प्रदान गरिँदै आइएको छ । अवार्डमा निर्देशक मिलन मोक्तान, कार्यक्रम निर्देशक शान्तिप्रिय, कार्यक्रम संयोजक सविता पोखरेल र अध्यक्षमा सुमन पण्डित रहेका छन् ।