ब्यापार समीक्षा

ब्युटी न्युज नेपाल
काठमाडौं, २७ असोज

गत महिनासम्म सुस्ताएको नेपाली चलचित्रको बजार असोजबाट केही उठेको छ । पछिल्लो चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को रिलिजसँगै नेपाली चलचित्रको बजार माथि उठेको हो । चलचित्र कबड्डी कबड्डी कबड्डीले तताएको बजारलाई यतीबेला नयाँ चलचित्र ‘६ मायाँ छपक्कै’ ले फेरी माथि पुर्याएको छ ।

मुलुकका करिब १२० ओटा सिनेमा हलमा रिलिज भएको ६ मायाँ छपक्कैले तीन दिनमा ४ करोड भन्दा माथिको व्यापार गरेको बताईएको छ । यो व्यापार भनेको चलचित्र कबड्डी कबड्डी कबड्डीको भन्दा माथि हो ।

दशैंको बिदा नहुँदा पनि रिलिज गरिएको ६ मायाँ छपक्कैले शनिबारको नियमित बिदासँगै आईतबार पनि सार्वजनिक बिदा पाएपछि चलचित्रको व्यापारमा अझ फाईदा पुगेको हो । ब्यापार घट्ने दिन सोमबार देखि बिहिबारसम्म मानिन्छ । तथापि चलचित्र ६ मायाँ छपक्कैको सोमबारको व्यापार पनि मध्यान्नको शोसम्म बहुसँख्यक सिनेमा हलमा हाउसफुलकै अबस्था छ । यो चलचित्रको व्यापारको रफ्तार यही रह्रयो भने निर्माता अभिनेता दीपकराज गिरीको सोच भन्दा यो चलचित्रको माथिको व्यापार गर्नेछ ।

चलचित्र कबड्डी कबड्डी कबड्डीले दुई सातामा कुल ११ करोड ३ लाखको व्यापार गरेको यसका निर्माता निर्देशक रामबाबु गुरुङले यसै साता पत्रकार भेटघाटका क्रममा बताएका थिए । यो व्यापारलाई २०७६ सालकै नेपाली चलचित्रको सबै भन्दा ठुलो व्यापार मानिएको थियो । तर अहिलेको चलचित्र ६ मायाँ छपक्कैको व्यापार रफ्तार हेर्दा कबड्डी कबड्डी कबड्डीको व्यापारलाई यसले उछिन्ने आशा गरिएको छ ।

चलचित्र ६ मायाँ छपक्कैले ९/१० करोडको ब्यापार गर्ने आशा आफुहरुले गरेको निर्माता अभिनेता दीपकराज गिरीले गत साता ब्युटी न्युज नेपाललाई बताएका थिए । तर अहिले आफ्नो चलचित्रले आश्चार्यजनक व्यापार गरिरहेकाले आफुले आशा गरेको भन्दा माथिको व्यापार गर्ने भनाई दीपकराजको छ । अर्को साता पनि नयाँ नेपाली चलचित्र नभएकाले यो फिल्मले दोश्रो साता पनि राम्रो ब्यापार गर्ने आशा गरिएको छ ।

चलचित्र ६ मायाँ छपक्कैलाई सञ्चारकर्मी दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । कथा पनि निर्देशक लामाकै हो । फिल्ममा दीपाश्री निरौला सल्लाहकार निर्देशकको रुपमा छिन् । यो चलचित्र ‘आमा सरस्वती मुभिज’, ‘रोहित अधिकारी फिल्मस’ र ‘र्आइएमई’को संयुक्त ब्यानरमा निर्माण भएको हो । यो चलचित्रका मुख्य निर्माता रोहित अधिकारी र कार्यकारी निर्माता जितु नेपाल, केदार घिमिरे हुन् ।

चलचित्र ६ मायाँ छपक्कैमा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्ट, प्रकाश घिमिरे, सविन बास्तोला, अनुराग सिंह कुँवर, बिष्णु सापकोटा, शिशिर वाङदेल, सारदा गिरीसहितको मुख्य भूमिका रहेको छ ।