अनाथ बालबालिकासँग काजलको जन्मदिन


ब्युटी न्युज नेपाल
काठमाडौं, ६ असोज

आफ्नो जन्मदिनमा फजुल खर्च कटौती गरेर सामाजिक कार्यमा खर्च गर्ने चलन बढेको छ । यसै क्रममा ललितपुरको कुपन्डोलमा रहेको काजल क्रियसनकी अध्यक्ष तथा फेसन डिजाईनर काजल शर्माले आफ्नो जन्मदिन पनि अनाथ बालबालिकासँग मनाएकी छिन् ।

काठमाडौंको टुकेमा रहेको श्रीजन उद्दार सेवा समितिमा आश्रित विभिन्न अनाथ बालबालिकाबीच उनले आफ्नो जन्मदिन मनाएकी हुन् । फेसन डिजाईन काजलले ती अनाथ बालबालिकाहरुलाई कपडा, स्टेशनरी सामग्री लगायतका बस्तु प्रदान गरिन् ।

काजलले सो क्रममा त्यहाँ रहेका २८ जना बालबालिकासँग बसेर केक काट्दै उनीहरुलाई खाना खुवाईन र ती बालबालिकासँग उनले खाना खाईन् । साथीहरुसँग रमाईलो त गरिन्छ नै, यसपटकबाट आफुले जन्मदिनमा केही सामाजिक कार्य गर्ने लक्ष्यसाथ अनाथ बालबालिकासँग जन्मदिन मनाएको काजलले बताईन् ।