दर्शकको मन जित्दै जुनको जुनेली…


ब्युटी न्युज नेपाल
काठमाडौं, १३ भदौ

यो दशैंलाई लक्षित गरेर २४ असोजमा रिलिजको घोषणासँगै चलचित्र ‘छ मायाँ छपक्कै’को पहिलो गीत जुनको जुनेली…को भिडियो युट्युवबाट रिलिज गरिएको छ । शुक्रबार बिहान रिलिज गरिएको भिडियोले रिलिज भएको १२ घन्टामा २ लाख ५० हजार भ्युज पाईसकेको छ । गीतलाई दर्शकले निकै मन पराएका छन् । लोक लयमा आधारित यो गीत कर्णप्रिय छ ।

सालको पात टपरी हुने…का गायक संगीतकार बसन्त थापाले यो गीतमा सँगीत गरेको हुन् । शब्द राजेन्द्र थापाको हो । गीतलाई बसन्त र मिना निरौलाले गाएका छन् । यो गीतबाट गायक बसन्तको चलचित्र संगीतमा डेब्यु सार्थक देखिने छ ।

दीपेन्द्र लामा निर्देिशत छ माया छपक्कैको यो गीतको भिडियोमा दीपकराज गिरी र केकी अधिकारीबीचको प्रेम सम्बन्ध स्थापित गर्न खोजिएको छ । गीतमा फिल्मका प्रमुख कलाकारहरु दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, केकी अधिकारी र सुपुष्पा भट्ट छन् । जसमा जितु र सुपुष्पाको प्रेम, बुद्धि तामाङ र रजनी गुरुङको प्रेमसम्बन्ध पनि देखाईएको छ ।

सिन्धुलीको सितलपाटी क्षेत्रमा रोपाईको भव्य दृष्यसँगै त्यहाँका सुन्दरता र संस्कृतिलाई यो गीति दृष्यमा समेटिएको छ ।
आमा सुरस्वती मुभिज, रोहित अधिकारी फिल्मस् र आईएमईबीच सहकार्य भएर निर्माण भएको यस फिल्मका निर्माता रोहित अधिकारी, कार्यकारी निर्माता केदार प्रसाद घिमिरे हुन् ।

निर्देशक लामाकै कथा रहेको फिल्ममा दीपकराज गिरीको पटकथा, दीपकसँगै केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरवीको सम्बाद यसमा छ । रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, दीपाश्री निरौलाको सल्लाहकार निर्देशन छ । जसमा हरि हुमागाईंको छायांकन, कविराज गहतराजको कोरियोग्राफी र विपिन मल्लको सम्पादन रहेको छ ।