वैवाहिक द्धन्द्धमा कबड्डी कबड्डी कबड्डीको ट्रेलर 


ब्युटी न्युज नेपाल

काठमाडौं, १३ भदौ 

सहरबाट गाउँ आईकी एक युवतीसँग विवाह गर्न गाउँकै दुई काजी र सहरबाट फेरी तीनै युवतीको पछि लाग्छन् । अर्का युवकले ती युवती फकाउन त्यतिकै सँघर्ष गर्छन् । युवतीलाई आफ्नो बनाउन यी तीन युवाले गरेको सँघर्षको कथा बोकेर चलचित्र कबड्डी कबड्डी कबड्डीको ट्रेलर शुक्रबार रिलिज भएको छ ।

पहिलो काजी दयाहाङ थिए । नयाँ काजीको रुपमा यसपटक विल्सन बिक्रम राई थपिएका छन् । सहरी युवाको रुपमा कर्मालाई ट्रेलरमा प्रस्तुत गरिएको छ । यी तीन नायकको केन्द्रबिन्दु बनेकी युवती उपासना सिंह ठकुरीलाई विल्सनले विवाह गर्न खोजेको ट्रेलरमा देखाईएको छ । उनको निम्तापत्र दयाहाङले च्यात्छन् । तर उपासनालाई कसले आफ्नो बनाउँछ भन्ने बुझ्नका लागि फिल्म नै कुर्नुपर्छ ।

कबड्डकीको सिक्वेलको रुपमा आएको यो तेश्रो सृँखलामा पनि गाउँका काजी दयाहाङलाई मैया (रिश्मा)कै प्रेममा तड्पिएको देखाईएको छ । तर मामा (पुष्कर गुरुङ)की छोरी (उपासना)लाई विवाह गर्दा पैसा पाउने भएपछि रोजगारीका लागि सहर हिड्न ठिक्क परेका यी काजी सहर जाने सपना त्यागेर तिनै युवतीको पछि लागेको ट्रेलरमा उल्लेख छ ।

कबड्डीको दुई ओटा सृँखलाको सफलतापछि यो तेश्रो सृँखला आउन लागेको हो । दर्शकका लागि यो फिल्म अहिले प्रतीक्षरत छ ।  ट्रेलरले रिलिज भएको १२ घन्टामै ३ लाख भन्दा बढी भ्युज पाएको छ । यो फिल्म पनि सामाजिक प्रेमकथामै आधारित छ । जसमा मुस्ताङका दृष्य आकर्षक छन् ।

निर्देशक रामबाबु गुरुङले यो फिल्ममा पनि आफ्नो ग्रामिण कथाबस्तु त्यहीँको परिवेश अनुसार भन्ने शैली छाडेका छैनन् । उनले यो शैली पहिलो फिल्म अनागरिकबाटै अँगालेका हुन् ।

यो फिल्म सुरुमा १३ भदौमा रिलिजको तयारी गरिएको थियो । दक्षिण भारतीय प्रभावशाली अभिनेता प्रभासको फिल्म ‘साओ’ १३ भादौमा आएपछि रामबाबुको फिल्म कबड्डी कबड्डी कबड्डी सरेर ३ असोजमा पुगेको हो । यसपटक यो फिल्मलाई दसैं लक्षित गरिएको छ ।

यो चलचित्रमा दयाहाङ राई, कर्मा शाक्य, उपासना सिंह ठकुरी र विल्सन विक्रम राई, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल, रिश्मा गुरुङ, पुस्कर गुरुङ, कमलमणी नेपाल, अरुणा कार्कीलगायतका कलाकारहरुको मुख्य भूमिका छ ।

यो फिल्मलाई बासुरी फिल्मस, सिनेमा आर्ट, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको ब्यानरमा सँयुक्त निर्माण गरिएको छ । निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले यसको स्कृप्ट तयार पारेका हुन् । जसमा शैलेन्द्र डि. कार्कीको छायाँकन, रेनशा वान्तवा राईको कोरियोग्राफी, निमेश श्रेष्ठको सम्पादन, मणीराम पोखरेल, अर्जुन कार्की र ओम चन्द्र रौनियार फिल्मको निर्माण छ ।