आयुषको स्वरमा आयो हजार जुनीसम्मको गीत


ब्युटी न्युज नेपाल
काठमाडौं, २८ साउन

यही ३० साउनबाट रिलिज हुने चलचित्र ‘हजार जुनीसम्म’को एउटा गीतमा बाल गायक आयुष केसीको पनि स्वर रहेको छ । भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा नेपालबाट सहभागी हुँदै जी टीभीको कार्यक्रमको फाइनलमा पुगेर चौथो भएका आयुष केसीले नेपाली फिल्म हजार जुनीसम्मका लागि गीत गाएका हुन् ।

उदय सोताङ्गको गीत ‘हजार जुनीसम्म’ आयुषले गाएका हुन् । निर्माण पक्षले आयुषको स्वर रहेको गीतलाई सार्वजनिक गरेको छ ।

फिल्ममा यसलाई पुन एरेञ्ज गरिएको छ । गीतलाई उदयले नै तयार पारेका हुन् । केहि दिन अगाडी आयुषले उदयकै उपस्थितिमा गीत रेकर्ड गराएका थिए ।

उदयले धेरै बाल गायकको स्वर रिजेक्ट गरेकोमा आयुषले भने आफुलाई खुसी बनाएको बताए । फिल्ममा उदय र आयुष दुवैको स्वरमा गीत रहनेछ ।

गीतमा पवन चाम्लिङ्ग ‘किरण’ को शब्द र योगेन्द्र घातानीको संगीत छ । उदयको स्वरमा फिल्ममा गीत गाउँदै गरेको आर्यन सिग्देल देखिनेछन् भने आयुषको स्वरमा उनले कला कलाकार अनुभव रेग्मी देखिने छन् ।

उदयले स्टुडियोमा रेकर्डिङको क्रममा आयुषलाई केहि सिकाएका थिए । ‘मैले दिएको शैलीलाई उसले छिटै टिप्यो, उ मेहेनती मात्र होइन् ज्ञानी पनि रहेछ’ आयुषलाई भेटेपछि उदयले खुसि हुँदै भनेका थिए ।

‘यो गीत मेरो निकै नजिकको गीत हो, त्यसैले अरुलाई दिदा निकै सोच विचार गरेर दिन्छु’ उदयले भने । आफ्नो सांगीतिक यात्रामा महत्वपूर्ण गीतको रुपमा उदयले ‘हजार जुनीसम्म’ लाई लिने गर्छन् ।

आयुषले पनि उदयको गीतमा गाउँनु पाउँदा उत्साहित छन्,‘मैले यो गीत गाउँन पाउनु नै एक किसिमको जीत हो’ आयुषले भने । आयुषले फिल्म ‘हजार जुनीसम्म’ मार्फत पार्श्वगायनमा डेब्यु गरेका हुन् ।

विकासराज आचार्यको निर्देशनमा तयार भईरहेको फिल्म आउँदो साउँन ३० मा रिलिज हुँदैछ । फिल्ममा आर्यन सिग्देल, स्वस्तिमा खड्का, संचिता लुइँटेल , अनुभव रेग्मी, सलोन बस्नेतलगायतका कलाकारहरुको अभिनय छ ।

कविता रेग्मी फिल्मकी कार्यकारी निर्माता हुन् भने यसमा विशाल चाम्लिङ निर्माता छन् । फिल्मको पटकथा सामीप्यराज तिमल्सेनाले तयार पारेका हुन् । यसमा उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविण पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ ।