९० सिनेमा हलमा चलचित्र साईनो


रिलिज चलचित्र

ब्युटी न्युज नेपाल
काठमाडौं, २४ साउन

नयाँ चलचित्र साईनो शुक्रबारबाट मुलुकका करिब ९० ओटा सिनेमा हलमा रिलिज भएको छ । नेपाली चलचित्रकी प्रथम नायिका भुवन थापा चन्दले यो चलचित्र निर्माण गरेकी हुन् ।

चलचित्र साईनो त्रिकोणात्मक प्रेमकथामा आधारित छ । अहिलेका तन्नेरी पुस्तालाई समेत लक्षित गरेर तयार पारिएको निर्माण पक्षको कथन छ । यो फिल्म चन्द्र बिनायक फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको हो ।

यो चलचित्रलाई रमेश थापाले निर्देशन गरेका हुन् । फिल्म रिलिज अघि आफुहरुले चितवनमा साईनको विशेष शो आयोजना गरेको र त्यहाँ यो फिल्म हेर्नेलाई सबैले मन पराएको यसका निर्देशक थापाले जानकारी गराए । चलचित्रलाई शुक्रबार बिहान काठमाडौंमा बिशेष प्रदर्शन गरियो । फिल्म हेरेर दर्शकले राम्रो प्रतिक्रिया दिएको निर्देशक थापाको कथन छ ।

यो चलचित्रमा नीता ढुंगाना, मिरुना मगर, राज कुमार, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राईलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

राजकुमारले यही चलचित्रबाट नायकको रुपमा डेब्यु गर्दैछन् । भारतमा मोडलिङ गरेर उनले नेपाली फिल्मबाट डेब्यु गरेकी हुन् । अभिनेत्री मिरुना मगरले गाउँबाट सहर आई सँघर्ष गरेकी एक युवतीको भूमिका निर्वाह गरेकी छिन् ।

यो चलचित्रकी प्रथम नायिका एवम् यो चलचित्रकी निर्माता भुवन चन्दले भनिन्,‘नेपाली चलचित्र क्षेत्रमा करिब ४० वर्ष काम गरेको अनुभवको आधारमा म आफैं निर्माता बनेर चलचित्र साईनो तयार गरेकी हुँ । यो चलचित्रमा नेपाली समाजमा मानिसहरुको सम्बन्ध र त्यसमा आउने उतार चढाबको कथा हामीले प्रस्तुत गरेको छौं ।’

चलचित्रको एउटा गीत रिलिज गरिसकिएको छ । साइनो चलचित्रको दुई ओटा गीत अहिले चर्चामा छ । शरण थापा कार्यकारी निर्माता रहेको चलचित्र साइनोमा रामेश्वर कार्कीको छाँयांकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ ।