हजार जुनीसम्म मन छुने फिल्म बनाएको छु – विकाश आचार्य

चलचित्र हजार जुनीसम्म यही ३० साउनबाट रिलिज हुँदैछ । यो चलचित्रलाई ‘नाई नभन्नु ल’ सृँखलाका निर्देशक विकाश राज आचार्यले निर्देशन गरेका हुन् । यतिबेला उनले आफ्नो व्यानरबाट पर हटेर ’हजार जुनीसम्म’ निर्देशन गरेका छन् । टिम उस्तै भएपनि मर्म भने केहि फरक छ । यसपटक कथ्य शैली नै भिन्न रहेको विकाश बताएका छन् । नयाँ चलचित्र हजार जुनीसम्मको बारेमा निर्देशक आचार्यसँग गरिएको कुराकानीको मुख्य अँश –

चलचित्र हजार जुनीसम्म नै किन निर्माण गरियो ?
चलचित्र नाई भन्नु ल नै सफल भईरहदा विकाशले अरु काम गर्दैन भन्ने चर्चा पनि हुन्थ्यो । मलाइ पनि बाहिरको व्यानरमा काम गर्न मन न लाग्ने होइन , तर टिम मिल्नु पर्छ । म तयार थिए र टिम बन्यो त्यसपछि हामीले हजार जुनीसम्मलाई तयार गर्यौ । कथाको डिमाण्ड अनुसार नै कलाकारलाई चयन गर्यौ । नाई नभन्नु ल सिरिज केहि सेन्टिमेन्टल पनि छ , यसलाई भने रमाइलो फ्यामिली ड्रामा बनाउ भनेर पनि यो तयार गरेका हौ । प्रेम उहिँ हो , पारिवारिक ड्रामा नै हो तर पनि प्रस्तुतीकरण र कथ्य शैली भने फरक छ ।

त्यसो भए यो नाइँ नभन्नु ल ६ हो त ? , यस्तो पनि चर्चा छ नि ?
नाई नभन्नु ल भन्ने वितिकै एउटा सेन्टिमेन्टल सिरिज नै दर्शकको अपेक्षा हुन्छ । एउटा छुटै छाप परिसकेको छ त्यसको । तर , यो रमाइलो पारिवारिक फिल्म हो । नाई नभन्नु ल सिरिज रुचाउने दर्शकलाई यो त मन पर्छ नै साथै एउटा कलरफुल फिल्म रुचाउने दर्शकले पनि यसमा इन्जोय गर्नु हुन्छ । मेरो प्याटर्न त छ नै तर यसपटक केहि नयाँ पनि छ ।

यो चलचित्रमा नाई नभन्नु ल कै अधिकांस कलाकार छन् नि ?
हो । किनकी एक पटक टिम वर्क भएको कलाकारसँग काम गर्न निकै सजिलो हुन्छ । अनि नयाँ सदस्यको रुपमा सलोन बस्नेत र डेब्यु ब्वाई अखिलेश प्रधान हुनुहुन्छ । म प्राय काम गर्दा मलाइ बुझोस् भन्ने लाग्छ , एक पटक काम गरिसकेकाले बुझिसकेका हुन्छन । साथै , हाम्रो व्यानरबाट नयाँ प्रतिभाले मौका पाओस भनेर नै हामी नयाँ अनुहारको खोजिमा हुन्छौ । तर, हजार जुनीसम्म फिल्म हेर्नु भयो भने तपाईले बुझ्नु हुन्छ । हामीले चयन गरेको कलाकार र उनीहरुले निर्वाह गरेको भूमिकाको विकल्प नै छैन । नाई नभन्नु ल सिरिजकै अधिकांस कलाकार किन भन्ने प्रश्नको जवाफ फिल्मले नै दिन्छ ।

नाई नभन्नु ल सिरिजबाट बाहिर आउँदाको अनुभव ?
नाई भन्नु ल पनि सिरिज हो सिक्वेल होइन । त्यसैले त्यहाँ पनि कथा विभिन्न तरिकाले प्रस्तुत गरेका थियौ । यस पटक पनि त्यहि हो । हामीले केवल प्याटर्न फरक गरेका हौ । त्यसैले त्यस्तो फरक हुँदैन , मलाइ । तर , म आतुर छु कि दर्शकले कस्तो प्रतिक्रिया दिनु हुन्छ । फिल्मलाई मन छुने बनाएको छु । यसमा हासो , रोदन , माया , पारिवारिक दायित्व सबै मिश्रित छ । साउन ३० मा लाग्दैछ , त्यसैले आतुर छु ।