ब्युटी न्युज नेपाल
काठमाडौं, १९ साउन

लोक तथा दोहोरी गायिका सुनिता अधिकारीले यो वर्षको तिजलाई लक्षित गरेर नयाँ तिज भाका बजारमा ल्याएकी छिन् । शहरका महिलाहरुको कथा समेटिएको रमाइलो तीज गीत ‘ छिनछिन हातैमा चुरा…’ को गीत तथा भिडियो उनले बजारमा ल्याएकी हुन् ।

यो गीतलाई संचारकर्मी एवं निर्देशक गणेश पाण्डेले लेखेका हुन् । पाण्डे चर्चित वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’का निर्देशक हुन् ।

यो गीतमा डिस्को धाउने र मापसे गर्ने युवतीहरुदेखि अमेरिका, अष्ट्रेलिया र युकेमा पुगेका दिदीबहिनीको समसामयिक परिस्थितिमाथि चोटिलो प्रहार गरिएको छ । छोटो समयमै चर्चा कमाउन सफल गीत ‘चुरा’ मा गायिका अधिकारीकै दमदार अभिनय एवं नृत्य छ ।

चर्चित लोकगायक एवं सर्जक शिव हमालको लय रहेको ‘चुरा’ को कृष्ण विक ‘भान्जा’ ले एरेन्ज र कुमार रानाले मिक्सिङ गरेका हुन् ।

साइन मिडिया प्रालिको प्रस्तुति रहेको गीतको कोरियोग्राफी तथा निर्देशन प्रकाश भट्ट, सम्पादन, विष्णु शर्मा तथा छायाँकन राजेश घिमिरेले गरेका छन् ।

‘पानको मिसी…’, ‘क्यारम माया…’, ‘लुरुरु हुरुरु …’ जस्ता थुप्रै लोकप्रिय गीतबाट चर्चा कमाएकी गायिका अधिकारीले यस गीतबाट पनि दर्शक तथा स्रोताहरुको राम्रो प्रतिक्रिया पाएको बताइन् ।