एकसाथ ७४ हलमा चलचित्र ‘सानो मन’


ब्युटी न्युज नेपाल
काठमाडौं, २७ असार

मुलुकका ७४ ओटा सिनेमा हलबाट चलचित्र सानो मन रिलिज भएको छ । सानो मन २७ असार शुक्रबारबाट रिलिज भएको हो । चलचित्र सानो मनमा आयुष्मान देसराज जोशी, शिल्पा मास्के, सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

यो चलचित्रको रिलिज पूर्व सन्ध्यामा बिहिबार बेलुका चलचित्र सानो मनको क्युएफएक्स कुमारी हलमा प्रिमियर गरियो । प्रिमियर शोमा नेपाली चलचित्र क्षेत्रका सिनेकर्मीहरुको उपस्थित थियो । साँगीतिक प्रेम कथामा आधारित यो फिल्ममा अभिनेता आयुष्मान देसराज जोशीले अहिलेसम्मकै उत्कृष्ट काम गरेको अन्य सिनेकर्मीले बताए । अभिनेत्री शिल्पा मास्केको कामको पनि उनहरुले खुलेर प्रसँसा गरे । अहिलेको चलचित्र भन्दा केही फरक शैलीको यो फिल्म बनेको प्रतिक्रिया सिनेकर्मीहरुले दिएका छन् ।

सांगीतिक प्रेम कथामा आधारित यो चलचित्रलाई सुयोग गुरुङले निर्देशन गरेका हुन् । यो उनको डेब्यू निर्देशनमा निर्माण भएको चलचित्र हो । प्रिमियरमा राम्रो प्रतिक्रिया पाएको र दर्शकबाट पनि साथ पाउने विश्वास लिएको उनले बताए । आफुले चलचित्रलाई राम्रो बनाउनु कुनै कसर बाँकी नराखेको यी निर्देशकले जिकिर गरे ।

समिर सुनवार र निर्देशक गुरुङको संयुक्त लेखन रहेको यस चलचित्रलाई आलोक शुक्लाले छायांकन गरेका छन् । ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको सानो मनलाई संयुक्त ब्यानरमा निर्माण गरेको हो । सुयोग गुरुङ र मिलन श्रेष्ठको सम्पादन रहेको यो चलचित्रकोे भिएफएक्स नगेश कँडेलले गरेका छन् ।

काठमाडौं, भैरहवा, बैंकक लगायतका ठाउँहरुमा छायांकन भएको यस चलचित्रका निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर हुन् ।